महासंघको अध्यक्षमा पशुपती मुरारका

162
  •  
  •  
  •  

काठमाडौं १६ असार । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदका लागि पशुपती मुरारका निश्‍चित भएका छन्। अध्यक्ष पदका दुई प्रत्याशी भवानी राणा र भाष्करराज राजकर्णिकारले उम्मेदवारी फिर्ता लिएपछि  मुरारका निर्विरोध भएका हुन्।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर राजकर्णिकारले मुरारकालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् भने राणाले बुधबार पत्रकार सम्मेलन गरेर उम्मेदवारी फिर्ताको घोषणा  गरिन् । आगामी शुक्रबार तोकिएको चुनावका लागि मुरारकासँगै राणा र राजकर्णिकारले उम्मेदवारी दर्ता गरेका थिए।

पत्रकार सम्मेलनमा राजकर्णिकारले महासंघको संस्‍थागत एकताका लागि आफूले उम्मेदवारी फिर्ता लिएको बताए। महासंघलाई राजनीतिक र‌ंग दिन नहुने भनाइ उनको छ।

मुरारकालाई निर्विरोध गराउन र सहमति जुटाउन पूर्व अध्यक्षहरुले पनि पहल गरेका थिए। उनीहरुले चुनावी प्रतिस्पधा भन्दा सहमतिबाटै साझा उम्मेदवार छान्न दबाब दिएका थिए । मुरारका महासंघको कार्यवाहक अध्यक्ष हुन्। महासंघमा उपाध्यक्ष र २०७० मा भएको निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा निर्वाचित मुरारका तत्कालिन अध्यक्ष प्रदिपजंग पाण्डे भष्ट्रचारको अभियोग लागेपछि कार्यवाहकको अध्यक्षको भूमिकामा छन् ।

राजकर्णिकारले महासंघमा बरिष्ठ उपाध्यक्ष र उपाध्यक्षको रुपमा काम गरिसकेका छन्। २०७० साल चैतमा भएको निर्वाचनमा पाण्डेसँग पराजित भएका थिए। अध्यक्षका प्रत्यासी मध्ये राणा अहिले महासंघको कृषि उद्यम समितिको सभापति छन्। उनले यसभन्दा अगाडि महासंघमा जिल्ला तथा नगर क्षेत्रको उपाध्यक्ष भएर काम गरिसकेको अनुभव रहेको छ। २०७० चैतमा भएको निर्वाचनमा राणा बरिष्ठ उपाध्यक्षमा पराजित भएकी थिइन्।

महासंघका तत्कालिन अध्यक्ष प्रदिपजंग पाण्डे भष्ट्रचारको मुद्दामा जेल गएपछि २०७३ चैत सम्मको लागि कार्यकाल रहने गरी अध्यक्ष पदको निर्वाचन हुन लागेको हो। महासंघको निर्वाचनमा २०७० सालमा भएका मतदाताले मात्र भाग लिन पाउने व्यवस्था गरिएको छ।


  •  
  •  
  •