नेपाल र दक्षिण कोरियाबीचको आर्थिक सम्बन्ध विस्तारमा जोड

439
  •  
  •  
  •  

काठमाडौं, ८ साउन(ओएनएस): नेपालका लागि दक्षिण कोरियाका नवनियुक्त राजदूत चो योङ्ग-जीनले आफ्नो कार्यकालमा नेपाल र दक्षिण कोरिया बीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप सुदृढ पार्न आफु कार्यरत रहने बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेसंग बिहीवार भएको भेटवार्तामा राजदूत चोले यस्तो बताएका हुन् ।
सो अवसरका उनले नेपालको बजार तथा नेपालमा लगानीको सम्भाव्यता भएका क्षेत्रहरुको बारेमा दक्षिण कोरियाली लगानीकर्ताहरुलाई जानकारी गराउने विश्वास दिलाए । साथै नेपाल र दक्षिण कोरिया बीच दौत्य सम्बन्ध स्थापना भएको चालिसौं वर्षगांठको उपलक्ष्यमा नेपालमा दुई देशको आर्थिक तथा व्यापारिक सम्बन्ध अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने बताए ।

सो अवसरमा महासंघका अध्यक्ष पाण्डेले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा दक्षिण कोरियाको उल्लेखनीय योगदान रहेको बताए । उनले जलविद्युत, पूर्वाधार, पर्यटन आदि क्षेत्रमा कोरियाली लगानी भित्र्याउन सहयोग गर्न अनुरोध गरे । पाण्डेले दुई देश बीचको आर्थिक सम्बन्धलाई अझ मजबूत र सुदृढ पार्न निजी क्षेत्रबीच निरन्तर रुपमा छलफल र भेटघाट हुनु पर्नेमा जोड दिए ।


  •  
  •  
  •