घटायो हवाइ भाडा दर

53
  •  
  •  
  •  

काठमाडौं १८ भदौ ।
नेपाल वायु सेवा निगमले मलेसियामा रहेका अवैध नेपाली कामदार फर्काउने बेला बढाएको हवाई भाडा घटाएको छ। निगमले मलेसिया–काठमाडौं हवाई भाडा ७० प्रतिशतसम्म बढाएको थियो । निगमले नयाँ भाडा पाँच सय ६० रिंगेट (१६ हजार ८ सय) कायम गरेको छ।

सस्तोमा उडान भरिरहेको निगमले एकतर्फी हवाई भाडा गत साता पाँच सय तीन रिंगेटबाट (१५ हजार ९० रुपैयाँ) आठ सय ६० रिंगेट (२५ हजार ७ सय १० रुपैयाँ) पुर्‍याएको थियो। बढेको भाडा कायमै रहेको भए ट्राभल डकुमेन्ट लिएर घर फिर्ने तयारीमा बसेका करिब १० हजार कामदारमाथि व्यवभार थपिन्थ्यो । निगमले अहिले अवैधानिक कामदारका लागिमात्र पाँच सय ६० रिंगेट बनाएको हो ।

निगमको मलेसियास्थित कन्ट्री म्यानेजर सुधन श्रेष्ठले हवाई भाडा घटेको जानकारी दिए । ‘हामीले दसैको सिजन भनेर हरेक वर्ष भाडा बढाउँछौं, अहिले पनि त्यही प्रक्रिया थियो । तर अवैधानिक कामदार घर फर्कने बेला मर्का पर्छ भनेपछि भाडा दर घटाइयो,’ उनले भने । अब ट्राभल डकुमेन्ट लिएर बसेका अवैधानिक कामदारका लागि निगमको भाडा दर पाँच सय ६० रिंगेट हुन्छ, उनले भने । अरु यात्रुका लागि भने भाडादर यथावत हुने उनले बताए ।

अवैधानिक रूपमा मलेसियामा काम गरिरहेकाहरू कुनै पनि बेला पक्राउ पर्न सक्ने हुँदा नेपाली दूतावासले कोपरासी इमिग्रेसन मलेसिया बरहाड र नेपाली व्यवसायीको समन्वयमा स्वदेश फर्काउने सुचना जारी गरेको भोलीपल्टै नेपाल एयरलायन्सले मलेसियादेखि नेपालको हवाई भाडा ७० प्रतिशतले बृद्धि गरेको थियो । हवाईभाडा बृद्धिले दसैमा घर फर्कने कामदारसमेत समस्यामा परेका छन् ।

हवाईभाडा बृद्धि भएपछि कोपरासी इमिग्रेसन मलेसिया बरहाड र नेपाली दुतावास मलेसियाले निगमलाई पत्र लेखि भाडा घटाउन आग्रह गरेका थिए ।-
नागरिकबाट


  •  
  •  
  •