बाढी पहिरोको क्षति : देशभर ६४ जनाले ज्यान गुमाए

396
  •  
  •  
  •  

काठमाडौं, २९ साउन (ओएनएस) : राष्ट्रिय मानव अधिकार आयोगले बाढी पहिरोबाट देशभर ६४ जनाको मृत्यु भएको जनाएको छ ।

आयोगका अनुसार बाढी पहिरोबाट ४४ जना घाइते भएका छन् भने ३६ जना बेपत्ता भएका छन् । झण्डै १९ हजार घरपरिवार विस्थापित, ७ सय २८ घरहरु पूर्णरुपमा क्षति र २ हजार १ सय ५३ घरमा आंशिक क्षति भएको आयोगले जनाएको छ ।

बाढी, पहिरोबाट ठूलो धनजनको क्षति भएको प्रति मानवअधिकार आयोगले दुःख व्यक्त गरेको छ । साथै आयोगले बाढी पहिरोबाट भएको क्षतिमा राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राहत, उद्धारको लागि प्रभावकारी कार्य गर्न आग्रह समेत गरेको छ । आयोगले अहिलेसम्म आसै उद्धार तथा राहतका कार्य प्रभावकारी हुन नसकेको ठहर गरेको छ ।

यसपछि प्राकृतिक प्रकोपपछि देखा पर्न सक्ने सरुवा रोगको प्रकोप तथा महामारीबाट बच्नका लागि सरकारलाई चिकित्सकको अस्थायी टोली व्यवस्थापन गर्न पनि विशेष अनुरोध गरेको छ ।

बाढी, पहिरो तथा डुबानबाट थप जनधनको क्षति हुन नदिन, पूर्व सावधानी अपनाउन, जोखिममा परेका सुत्केरी महिला, बालबालिका, जेष्ठ नागरिक तथा असहाय व्यक्तिलाई आवश्यकता अनुसार खोज, उद्धार र राहत कार्यमा अविलम्ब लाग्न आयोगले आग्रह गरेको छ ।

त्यस्तै, बाढी पहिरोबाट आउन सक्ने खतराबारे नियमति रुपमा जनतालाई विभिन्न माध्यमबाट सूचना प्रवाह गर्न पनि आयोगले सरकारलाई विशेष आग्रह गरेको छ ।

 

human rights 1


  •  
  •  
  •