काठमाडौ, १० भदौ (एजेन्सी) : उत्तर प्रदेशका मुख्य मन्त्री अखिलेश यादवले नेपालले नदीको ढोका खोल्ने र बढि भएको पानी बगाउने बारेको कुनै पनि सूचना भारतलाई नदिएको दावी गरेका छन् । उनले नेपालले कुनै सूचना नदिएका कारण भारतको उत्तर प्रदेशमा बाढीले डुवान गरेको आरोप समेत लगाएका छन् ।
उनले आफ्नो केन्द्रीय सरकार पनि यसमा निकम्बा देखिएको बताउँदै सरकारले पनि आफ्नो छिमेकी मुलुकसँग सहकार्य गर्न नसकेको बताएका छन् । उनले भनेका छन्, ‘हामीलाई के लाग्छ भने केन्द्रीय सरकारले नेपालसँग निकै राम्रो सम्बन्ध स्थापित गर्नुपर्छ, जसले गर्दा यस्ता विषयमा चाँडै सूचनाहरू प्रवाह होऊन् ।’ उनले थपे, ‘नेपाल हाम्रो छिमेकी मुलुक हो र यदी नेपाललाई बाढि व्यवस्थापनका लागि बाँध बनाउन थप सहयोग भारतबाट चाहन्छ भने त्यो सहयोग केन्द्र सरकारले गर्नुपर्छ ।’
बाढीले डुवानमा परेका स्थानहरूमा भ्रमण गर्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सोमबार यस्तो बताएका हुन् । उनले उत्तर प्रदेशले मात्र यस्तो समस्या भोग्नुपर्ने नभई अन्य ठाऊँमा समेत यस्ता अन्य समस्याहरू भोग्नु परिरहेको बताएका छन् ।
यादवले राज्य सरकारले केन्द्रीय सरकारबाट बाढी पीडितका लागि कुनै पनि सहयोग नपाएको बताएका छन् ।
कम्तिमा ९० मानिसले बाढीका कारण ज्यान गुमाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।