राहतमा ढिलाइ, मन्त्री आए तर उद्वार भएन

232
  •  
  •  
  •  

janakpur 4
नेपालगन्ज, ३० साउन : पश्चिम नेपालका बाँके, बर्दिया, दाङ र कैलाली जिल्लाका बाढी–डुबान पीडित राहतको पर्खाइमा छन् । डुबानग्रस्त कतिपय क्षेत्रका स्थानीयको उद्धारसमेत हुन सकेको छैन।

आइतबार गृहमन्त्री जनार्दन शर्माले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरे । नेपाली सेनाका हेलिकोप्टर पनि दिनभर परिचालन भए । तर, बाढीपीडितको उद्धार हुन सकेन । बर्दिया, खैरीचन्दनपुरको मझरा टप्पामा ४६ घरधुरी फसेका छन् । उनीहरु ४८ घण्टादेखि उद्धारको प्रतीक्षामा छन् । स्थानीय रामबहादुर चौधरीले हेलिकोप्टरलाई हात हल्लाएर उद्धार गर्न संकेत गरे पनि फर्केर गएको बताए । ‘हामी हिजो (शनिबार) दिउँसोदेखि यहीं छौं,’ उनले टेलिफोनमा भने, ‘कहिलेसम्म बस्नुपर्ने हो, थाहा छैन।’

ठाकुरद्वारा, बारबर्दिया, मधुवन, गुलरिया र बासगढी नगरपालिकाका बाढीपीडित रुख र विद्यालयको छतमाथि उद्धारको पर्खाइमा बसिरहेका छन्।

बाँकेका बाढी र डुबान प्रभावित क्षेत्रमा पीडित राहत र उद्धारको पर्खाइमा छन् । राप्तीसोनारी गाउँपालिकाको फत्तेपुरमा बाढीबाट विस्थापित स्थानीय विद्यालय र  सडकमा बसिरहेको वडाध्यक्ष रामलखन थारुले जानकारी दिए । ‘सबै घरजग्गा बाढीले बगायो, अन्त गएर बस्ने ठाउँ छैन,’ उनले भने, ‘त्यही भएर पीडित सडकमै बास बस्न बाध्य छन्।’

प्रभावित क्षेत्रमा स्वास्थ्यसंस्था पनि खुल्न सकेका छैनन् । स्थलगत अनुगमनमा गएको अधिकारवादी संस्था थर्ड एलाइन्सले डुडुवा गाउँपालिकाको बनकट्टी, बेतहनी र कम्दीमा स्वास्थ्यचौकी खुले पनि स्वास्थ्यकर्मी नहुँदा समस्या देखिएको जनाएको छ । एलाइन्सका नेपालगन्जस्थित उपक्षेत्रीय कार्यालय प्रमुख आलम खानले बाढी प्रभावित क्षेत्रमा राज्यले उद्धार र राहतको काम छरितो गर्न नसकेको बताए।

हजारौंको बिचल्ली

बर्दियामा शनिबार बिहानैदेखि बबईको बहाव बस्तीमा पस्दा हजारौंको बिचल्ली भएको छ । बाढीबाट ज्यान जोगाएर भाग्न सफल व्यक्ति भोकभोकै छन् । प्रहरीका अनुसार शनिबार करिब १० हजार व्यक्तिको उद्धार गरिएको छ । एसपी भरतबहादुर बोहोराले डुबानमा परेका व्यक्तिलाई सुरक्षित स्थानमा सारेको बताए।

मधुवन नगरपालिकाको वडा नं. १ र २ मा सम्पर्क हुन नसक्दा क्षति विवरण आउन सकेको छैन । नगरपालिकाका कार्यकारी अधिकृत धर्मराज न्यौपानेले करिब पाँच सय घर डुबानमा परेको बताए । जिल्ला प्रशासन कार्यालयका अनुसार गुलरिया, बारबर्दिया, ठाकुरबाबा, मधुवन र बाँसगढी नगरपालिका अधिकांश क्षेत्र जलमग्न छन् । बबईमा आएको बाढी हालसम्मकै ठूलो भएको आकलन गरिएको छ । मध्यरातमा पण्डितपुर, भैँसीहाट मेला र बालापुरबाट पसेको बाढीबाट गुलरिया नगरक्षेत्र डुबानमा परेको छ।

बबई बस्तीतिर सोझिएपछि उच्च सतर्कता अपनाइएको रेडक्रसका अध्यक्ष कृष्ण गौतमले बताए । बबईको सतह बढ्ने क्रमसँगै बारबर्दिया, ठाकुरबाबा र बाँसगढीका एक लाख घरधुरीले घर छोडेको रेडक्रसले जनाएको छ । प्रहरीको प्रारम्भिक तथ्यांकअनुसार बाढीले एक हजार घरलाई पूर्ण रुपमा क्षति गरेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा खटिएका छन् । बबई खतराको लेबल (८ मिटर) नाघेर ९ मिटर पुगेको मापन गरिएको छ। अाजकाे नागरिकमा खबर छ ।


  •  
  •  
  •