बाढी–पहिरोले सात वर्षमा २५ सयको मृत्यु

420
  •  
  •  
  •  

badhi pahiro
काठमाडौँ, ३० साउन : प्राकृतिक प्रकोपबाट सात वर्षमा अढाइ हजारभन्दा बढीको मृत्यु भएको छ । यस अवधिमा बेपत्ता हुनेको संख्या झन्डै सात सय छ । गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट मृत्यु हुनेको संख्या पछिल्ला वर्षहरूमा उस्तै अनुपातमा छ । अाजकाे नयाँ पत्रिकामा खबर छ ।

साढे तीन हजार घाइते/अंगभंग

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार विगत सात वर्षमा बाढीपहिरोबाट दुई हजार पाँच सय ११ को मृत्यु भएको छ भने ६ सय ६९ बेपत्ता भएका छन् । सोही अवधिमा तीन हजार तीन सय ६३ जना घाइते तथा अंगभंग भएका छन् ।

सरकारले प्राकृतिक प्रकोप न्यूनीकरणका लागि अर्बौं रुपैयाँ खर्च गरे पनि जनधनको क्षतिमा कुनै सुधार हुन नसकेको सुवेदीले बताए । सरकारले प्रकोप न्यूनीकरणका लागि गरेको खर्च निस्प्रभावी देखिएको छ । यस वर्षको वैशाखदेखि १० साउनसम्म एक सय ५५ को मृत्यु भएको छ भने १७ बेपत्ता भएका छन् ।

प्रकोप भएलगत्तै सरकारको यस्तो तयारी

प्राकृतिक प्रकोपबाट जिउधन र भौतिक क्षति हुने हो । प्रकोप भएलगत्तै प्रमुख जिल्ला अधिकारीमार्फत मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ, घरलगायत अन्य भौतिक क्षति भएका परिवारलाई १० हजार रुपैयाँ दिने व्यवस्था रहेको गृह मन्त्रालयका प्रवक्ता सुवेदीले बताए । प्रकोपबाट घाइते भएकालाई सीधै पैसा नदिई निःशुल्क उपचार गर्ने व्यवस्था छ । घाइतेको प्रकृति हेरेर सरकारी अस्पतालमा निःशुल्क उपचार गराउने व्यवस्था छ ।

नेपालमा कस्ता प्रकोपबाट मृत्यु हुन्छ ?

नेपालमा बाहै्र महिना विभिन्न घटनामा मानिसको मृत्यु हुने गरेको छ । तर, सबैभन्दा धेरै मनसुनको अवधिमा मानिसको मृत्यु तथा बेपत्ता हुनेको संख्या धेरै हुन्छ । यस समयमा धेरै पानी पर्ने भएकाले बाढीपहिरोबाट धेरैको मृत्यु हुने गरेको हो । नेपालमा १६ किसिमका प्राकृतिक प्रकोपबाट भौतिक र मानवीय क्षति हुने गरेको छ । जसमा बाढीपहिरो, हिउँपहिरो, चट्याङ, असिनालगायतका प्रकोप छन् । त्यसैगरी, डुंगा पल्टिँदा हुने मृत्यु, शीतलहर, डुबान, भूकम्प, महामारी, आगलागी, भारी वर्षा, आँधीहुरी, हिमपात, अचानक आउने बाढी र पुल भत्किँदा धेरैको मृत्यु हुन्छ ।

अर्बौंको भौतिक क्षति, तर यकिन तथ्यांक छैन

गृह मन्त्रालयका अधिकारीहरू सात वर्षको अवधिमा प्राकृतिक प्रकोपबाट अर्बौंको भौतिक क्षति भए पनि यकिन तथ्यांक नभएको बताए । मन्त्रालयका प्रवक्ता सुवेदीले अर्बौंको क्षति भए पनि त्यसबारे वास्तविक तथ्यांक नभएको बताए । प्रकोपमा मारिएका चौपायाको विवरण पशुपक्षी मन्त्रालयले राख्नुपर्ने सुवेदीको भनाइ छ । तर, पशुपक्षी मन्त्रालयले भने त्यससम्बन्धी विवरण नभएको जनाएको छ ।


  •  
  •  
  •