सरकारले बाढी प्रभावितलाई दिने राहत रकम बढायो

156
  •  
  •  
  •  

काठमाडौं, ११ असोज (ओएनएस) :  सरकारले बाढी प्रभावितलाई दिने रकम बढाएको छ ।

शनिबार गृहमन्त्रालयमा बसेको केन्द्रीय दैवी प्रकोप उद्वार समितिको बैठकले चाडपर्व मनाउनका लागि प्रतिपरिवार ३ हजार रुपैयाँसम्म र दैनिक गुजारका लागि ५० रुपैयाँ दिने निर्णय गरेको गृह मन्त्रालय अन्तर्गतको प्राकृतिक प्रकोप तथा विपद व्यवस्थापन महाशाखा प्रमुख यादव कोईरालाले जानकारी दिए ।

यसअघि सरकारले चाडपर्वका लागि प्रतिपरिवार ५ सय रुपैयाँ र दैनिक गुजाराका लागि प्रतिव्यक्ति ३५ रुपैयाँ दिएको थियो । व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिले  गत बुधबार गृहमन्त्री बामदेव गौतमलाई बोलाएर बाढी पिडितलाई दिएको रकम निकै थोरै भएको भन्दै दशैँ,तिहार छठ जस्ता चाडपर्व मान्न कम्तिमा पनि २ हजार रुपैयाँ र दैनिक खर्च बजार भाउ अनुसार निर्धारण गरेर दिन  निर्देशन दिएको   थियो  ।

गृह मन्त्रालय अन्तर्गतको प्राकृतिक प्रकोप तथा विपद व्यवस्थापन महाशाखा प्रमुख कोईरालाले ओएनएस न्यूजसँग भने,‘ रकम कति छ त्यसैलाई आधार मानेर समितिले दिएको निर्देशनको रकममा केही थप गरेर चाडपर्व मनाउनका ३ हजार रुपैयाँ दिने निर्णय भएको छ र दैनिक खर्च ५० रुपैयाँसम्म दिने निर्णय भएको छ ।’

कोईरालाले भत्किएका भौतिक संरचनाहरु छिटो निर्माण गर्ने निर्णय गरेको पनि जानकारी दिए । बैठकले झोलुङ्गे पुल तथा बाटो स्थानीय विकास मन्त्रालय, स्वास्थ्यसम्बन्धी विषय स्वास्थ्य मन्त्रालयले, विद्यालय तथा शिक्षण संस्थासम्बन्धी क्षति शिक्षामन्त्रालयले तत्कालन पुर्ननिर्माण गर्ने निर्णय गरेको कोईरालाले जानकारी दिए ।


  •  
  •  
  •