कास्मिरमा बाढी, सप्‍तरीमा रुवाबासी

165
  •  
  •  
  •  

काठमाडौं २८ भदौ ।
मका लागि भारत प्रशासित कास्मिर पुगेका सप्तरीका तीन सय युवा बाढीमा फसेका छन्। उनीहरूको उद्धार हुन सकेको छैन। केही अलपत्र अवस्थामा छन् भने केही सम्पर्कविहीन छन्।

मजदुरीका लागि सप्तरीको डाढा-३ कामैतटोलका ७५ जना कास्मिर गएका छन्। गोइठी, मैनाकडेरी त्रिकोल, मधुवापुर, जोगिनियालगायत गाविसका युवा पनि कास्मिरमा छन्। कामैत टोलबाट गएकामध्ये केही अलपत्र परेका छन् भने केही सम्पर्कमा आएका छैनन्। यसले गर्दा उनीहरूका घरमा चुलो नबलेको स्थानीय समाजसेवी कृष्णनारायण तिवारीले बताए। उनका अनुसार कतिपयका घरमा त रुवाबासी छ।

सम्पर्कमा आएका युवा पनि जोखिमपूर्ण अवस्थामा रहेको र खानेकुरा नपाएर भोकभोकै बस्न बाध्य भएको आफन्तले बताए। उद्धार हुन नसक्दा बाढीपीडित घरको छतमा बसेको र चार दिनपछि बिहीबार हेलिकोप्टरले केही खानेकुरा खसालेको जानकारी आफूले पाएको रामचन्द्र कामैतले बताए।

रामचन्द्रका तीन छोरा मजदुरीका लागि कास्मिरमा छन्। उनले भने, ‘मेरा तीनैवटा छोरा अलपत्र परेको खबर आएको थियो, फोनसम्पर्क हुन छाडेपछि घरमा दुई दिनदेखि चुलो बलेको छैन।’ उनले जोखिमपूर्ण अवस्थामा कास्मिरमा रहेका नेपालीको उद्धारका लागि तत्काल पहल गर्न सरकारसँग आग्रह गरे।

कामैत टोलबाट बुचाई कामैत, उनका छोरा प्रमोद र पशुपति, कोपिलादेवी कामैतका छोरा रमेश, देवर देवानन्द, रामचन्द्र कामैतका छोरा छोटैन, रिंकु, गुड्डु, फूलेश्वर कामैतका छोरा दशरथ, देवरानी कामैतका छोरा श्रीनन्दन र उमानन्द, डम्बर कामैतका छोरा रोहित र भाइ सिन्टु, लक्ष्मण कामैतका छोरा दुर्गानन्द, शिवाइ कामैतका छोरा दीपेन्द्र, ओपिन र जितेन्द्र, राम कामैतका छोरा रवीन्द्र, बेवीन्द्र र भाइ गोविन्दलगायत ७५ जना कामका लागि कास्मिर गएका छन।

कास्मिर पुगेकामध्ये केही अलपत्र परेको खबर आएको र बुचाई कामैतका छोरा पशुपतिलगायत आठनौजना सम्पर्कमा नआएको आफन्तले बताए। बेपत्ता भएको र अलपत्र परेको खबरले आफन्तजन चिन्तामा छन्।

छोराको चिन्ताले कतिपय बाबुआमालाई स्लाइन पानी चढाउनुपर्ने अवस्था आएको स्थानीय सीताराम कामैतले बताए। ‘रुनु-कराउनु त सामान्य कुरा हो, कतिपय त बेहोस् अवस्थामा छन्’, समाजसेवी तिवारीले भने, ‘अधिकांश घरमा चुलो बल्न छोडिसक्यो, केटाकेटी र वृद्धवृद्धाको बिजोग भएको छ।’

अलपत्र परेकालाई खानेकुराको अभाव छ। ‘त्यहाँबाट अलपत्र परियो, खानै पाइएन भनेर फोन गर्छन्, यहाँ बस्नेलाई कसरी खान मन लाग्छ र?’, रामचन्द्रले भने।

गत वैशाख, जेठ र असारमा रोजगारीका लागि सप्तरीका युवा श्रीनगरस्थित छनपुरा पुगेका थिए। उनीहरू यसअघि पनि हरेक वर्ष कास्मिर जान्थे र केही कमाएर आउँथे। दसैंतिहारमा फर्कने तयारीमा रहेका बेला आएको बाढीले सबैलाई बिचल्लीमा पारेको छ।

‘हरेक वर्ष एकै परिवार बाबुछोरासमेत जान्थे। सकेको कमाएर फर्कन्थे’, ७० वर्षीया देवरानी कामैतले भनिन्, ‘यसै वर्षचैं सबैलाई एकैपटक दैवले दु:ख दियो, पैसा नभए पनि कम से ज्यान जोगियोस्।’

टेलिफोन सम्पर्कमा आएका कास्मिर बाढीमा फसेको एक युवकलाई उद्धृत गर्दै चन्द्रेश्वर कामैतले भने, ‘सरकारी स्तरबाटै कुनै पहल नहुने हो भने तत्काल नेपालीको उद्धार हुने अवस्था छैन रे।’अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •