‘गुड्ने लज’को जिन्दगी

114
  •  
  •  
  •  

काठमाडौंं २६ भदौ ।
‘घर त देखिएन, त्यही गुड्ने लजतिरै लागियो अब,’ सोमबार बिहान १० बजेतिर राम्चेको जुरे नजिकै ओर्लंदै गरेका ६ जनाको टोली यसरी नै पीडा साट्दै थिए । सुनकोसी तालको पानीले गलेको जमिनमा बिस्तारै उनीहरूको टोली तालले पुरेको घरसम्म पुग्यो, एकछिन टोलाएर हे¥यो, अनि गुड्ने लजतिरै फर्कियो । तालले पुरिएको घर देख्ने छाँट नभएपछि सुस्केरा हाल्दै भने, ‘पानी घटे पनि घर त देखिएन, अब त्यही गुड्ने लजतिरै फर्काैं ।’

सुनकोसी थुनिएर बनेको तालको पानी घटेपछि आफूहरूको घर देखिने आशामा जुरेका कुमार पौडेल, दिनेश पराजुली, प्रकाश पराजुली, जानकीराम पराजुलीलगायतका परिवार घर छेउमा पुगेका थिए । तर, अरूको घर देखिए पनि आफ्नो घर नदेखेपछि उनीहरू निराश हुँदै पर्के । ‘घरको धुरी मात्रै देखियो,’ जुरेका रोहित पराजुली यस्तै पीडा पोख्दै सुस्केरा हालेर बाह्रबिसेतर्फ लागे ।

सुनकोसी ताल बनेपछि जुरेका १८ घरपरिवार विस्थापित छन् । त्यसमध्ये कुमार पौडेल, जानकीराम पराजुली र रोहित पराजुली बाह्रबिसेमा रहेका उनीहरूकै भाषामा ‘गुड्ने लज’मा बसिरहेका छन् । कन्टेनर भ्यानमा बसेकाले उनीहरूले यसलाई ‘गुड्ने लज’ नाम दिएका छन् ।

ना३ख ५१४७ नम्बरको गुड्ने लजमा उनीहरू बसेको ३८ दिन भइसकेको छ । गुड्ने लजको जीवन पनि असाध्यै कष्टकर भएपछि मंगलबारदेखि गुड्ने लज छाडेर आफन्तकोमा नै बस्ने योजना बनाएको कुमार पौडेलले बताए । तालको पानी घटेपछि उनी दुई दिनदेखि पुरिएको घरमा गए तर डिलमा रहेको तामाङ समुदायको पाँच घर मात्रै देखिएको उनले बताए । ‘तामाङ समुदायको घरजस्तो थियो, उस्तै देखिएको छ । घरमा राखेको मकै जस्ताको तस्तै रहेछ तर हाम्रो त घर अझै देखिएन,’ पौडेलले भने ।

आफूहरूको घर देखिने आशा नरहेको पौडेलले बताए । उनको एउटा पक्की घर र दुईटा कच्ची घर डुबानमा परेको छ । तालको पानी घटेपछि हाम्रो घर छेउबाटै पहिरो जान सुरु गरेको छ, अब घर देखिँदैन होला,’ पौडेलले आँसु चुहाउँदै भने, ‘घर देखिएपछि पुराना केही सामान भेटिन्छ कि भन्ने आशा थियो, आजदेखि त त्यो आशा पनि म¥यो ।’ उनको १ सय १ वर्षीया हजुरआमा ठूली आचार्यले राखेको १ सय वर्ष पुराना सिक्का र चार तोला सुन भेटिने आशामा उनी दुई दिनदेखि जुरेमा गएका थिए ।

‘अब केही भेटिँदैन, हाम्रा लागि अब जुरे मसानघाट भयो,’ अर्का पीडित जानकीराम पराजुलीले भने । जुरेका कृष्णप्रसाद पौडेललगायत नौ घर अब तालको पानी घटे पनि देखिने सम्भावना छैन । जुरेको पहिरोमा पुरिएको घर हेर्न निर्माण व्यवसायी अर्जुन थापा पनि पुगेका थिए । सडकमुनि रहेको उनको तीनतले पक्की घर अझैसम्म देखिएको छैन । जुरे डुबानमा पर्दा उनको सबैभन्दा बढी क्षति भएको छ ।

सबैले जुरे पहिरो भने पनि वास्तविक जुरेका डुबान पीडितहरूले भने अहिलेसम्म राहत पाउन नसकेको उनीहरूको गुनासो छ । ‘न घर छ न जग्गा नै, पैसा पनि छैन न त घर बनाउने एक आना जग्गा नै बाँकी छ, हामीलाई आश्वासन मात्रै छ,’ पीडित कुमार पौडेलले भने । मृतकका परिवारलाई मात्र होइन, डुबानपीडितहरूलाई पनि सरकारले हेर्नुपर्ने पीडितहरूको भनाइ छ ।

सरकारले आफूहरूलाई उचित राहत दिए घर बनाउने जग्गा नदिए पनि आफैं जग्गा खोजेर घर बनाएर बस्ने पीडितहरूको भनाइ छ । जुरेका डुबानपीडितहरूको मात्रै होइन, धुस्कुन दाबी गाउँका नदीबाट विस्थापितहरूको पनि पीडा उस्तै छ । सुनकोसीमा बनेको तालको पानी घटेपछि नदीभन्दा माथि रहेका घर र जग्गाहरू भासिने क्रम सुरु भएको छ । पहिरो गएदेखि सेनाले दाबी नजिकै बनाएको अस्थायी क्याम्पसमेत सोमबारदेखि खतरा भएको भन्दै हटाएपछि स्थानीयमा त्रास छाएको छ । नदी खुलाउन र बाटो निर्माणका लागि खटिएका सेनाको टोली ताल खुलेपछि बसेको जमिन भासिन सुरु भएपछि त्यहाँबाट हटेको हो । सेनाका जर्नेल आश्विनीकुमार थापासहितको टोली त्यहाँ बस्न असुरक्षित भए पनि सुनकोसी जलविद्युत् केन्द्र परिसरमा आएर बसेका छन् ।

सेनासमेत त्यहाँ बस्न असुरक्षित भन्दै फर्केपछि धुस्कुन दाबीको ३० भन्दा बढी घरका स्थानीय त्रासमा छन् । सेना हुँदा केही राहतको महसुस गरेका थियौं, अब सेना पनि हिँडेपछि हामी समस्यामा छांै,’ स्थानीय बुद्धिबहादुर रोक्काले भने । सुनकोसी तालको पानी साढे २० मिटर घटेपछि नदीको दायाँ–बायाँको जमिन भासिने क्रम सुरु भएको छ । नेपाली सेनाले निर्माण सुरु गरेको टेकानपुर, दाबी हँुदै बाह्रबिसे जोड्ने सडक पनि भासिन सुरु भएको छ । निजी क्षेत्रबाट निर्माण सुरु गरिएको सडक पनि भासिन सुरु गरेपछि दसैंअगावै यातयात सञ्चालन हुन समस्या हुने देखिएको छ ।
राजधानीबाट


  •  
  •  
  •