उदघाटन नहुँदै बग्यो झोलुंगे पुल

211
  •  
  •  
  •  

काठमाडौं ८ भदौ ।
वर्षौंको प्रतीक्षापछि झोलुंगे पुल बन्दा जिल्लाको कुसुम्बाघाट गाविसका स्थानीयलाई ठूलो त्राण मिलेको थियो। सदरमुकाम गुलरिया नजिकिएको थियो। तर, जिल्लाकै लामो मानिएको यो झोलुंगे पुल जडान भएको एक महिनामै बगई नदीले बगाएपछि स्थानीय फेरि पुरानै नियतिमा फर्किएका छन्। फेरि फर्किएको छ, डुंगामा जोखिमपूर्ण यात्राको बाध्यता।

बाढीले बगाएको पुल केही भाग उछिट्टिएर अर्को किनार पुगेको छ भन बाँकी बालुवामा पुरिएको छ। दुईतिरका किनारमा भग्नावशेष मात्र बाँकी छ। पुल बगेपछि गुलरियाबाट साँझ सबेरै घर आइपुग्ने सपना फेरि पनि तुहिएको स्थानीय बताउँछन्। उक्त पुल १ करोड ५९ लाखमा गत असार २४ गते तयार भएको थियो। २९ गतेदेखि मानिस त्यहाँबाट आउजाउ गर्न थालेका थिए। बनियाभार, पदनाहा, सानोश्री, ताराताललगायत गाविसका बासिन्दा प्रत्यक्ष लाभान्वित थिए। बिहीबार कुसुम्बाघाटमा १० बजेदेखि डुंगा कुदा ३ बजे मात्र पालो आएको बनियाभारका रामप्रसाद चौधरीले बताए। ‘पुलले ठूलै विकास भएझैं लागेको थियो तर त्यो सुख धेरै दिन टिकेन,’ उनले भने।
जिल्लाका थुप्रै गाविस जोड्ने पुल बगाए पनि यसको विकल्प खोज्ने प्रयास कतैबाट हुन सकेको छैन। ‘जिल्लाका अधिकांश भेग बाढीले तहसनहस पारेको छ,’ स्थानीय एक नेताले भने, ‘विस्थापितको व्यवस्थापनपछि मात्र सम्बन्धित निकायले पुलबारे सोच्ला।’ अहिले अवशेष मात्र देख्न सकिने पुलको इस्टिमेट र लागत विवरण कन्स्ट्रक्सनका ठेकेदार मोहन आचार्यसँग झोलामा छ। २ सय ८० मिटर लामो र बारसहित डेढ मिटर चौडाइको पुल निर्माण थालेको एक वर्षमा पूरा भएको थियो। २०६८ सालमा योजनामा परेको पुल २०७० सम्म सञ्चालनमा ल्याउने सरकारको योजना थियो। तर, राजनीतिक अस्थिरतासँगै टेन्डर रोकिँदा निर्माण कार्य पनि धकेलिएको थियो। उदघाटनको तयारी गर्दैगर्दा पुल बगेको आचार्यले जानकारी दिए। ‘सस्पेन्स डिभिजनको इस्टमेटमा तयारी हालतमा पुगेको केही दिनमै बगायो,’ उनले भने, ‘गाउँलेको वर्षौंदेखि सपना पनि बढारियो।’ रकम भुक्तानीअघि नै पुल बगेको गुनासो उनले गरे। गत हप्ता बबईमा आएको भेलले २७ जनाको मृत्यु भएको थियो।
नागरिकबाट


  •  
  •  
  •