थामिएन आँसुको भेल

47
  •  
  •  
  •  

काठमाडौं ३ भदौ ।
साटाखानीकी सुमित्रा दमार्इंले बाढीले बगाएको डेढ वर्षीया छोरीको माया मारिसकेकी थिइन्। नौ घन्टासम्म पुरिएकी छोरी फेला परेपछि उनको खुसीको सीमा रहेन।

बेहोस अवस्थामा भेटिएकी छोरी अहिले पनि बान्ता गरिरहेकी छन्। अनुहारमा लागेको घाउ निको भएको छैन। त्यही बाढीमा बेपत्ता १० वर्षीया जेठी छोरी र सासू भने अझै भेटिएका छैनन्।
‘गाउँमा हेलिकप्टर गएपछि आज (सोमबार) ढिलै भए पनि भगवान भेटिएजस्तो लागेको छ,’ चार दिनपछि सोमबार हेलिकप्टरमा वीरेन्द्रनगर ल्याइएकी उनले भनिन्, ‘यो घाइते छोरीको उपचार र हराएका छोरी–सासूलाई खोजेर भेटाइदिए केही राहत हुने थियो।’
एता, १३ वर्षीया कमला भण्डारीलाई बाढीपहिरोले गाउँमा वितन्डा मच्चाएको त थाहा थियो, तर आफ्नो घरभित्र यति ठूलो पीडा भित्रिएको कल्पनासम्म थिएन। हरिहरपुर गाविसको पाग्मस्थित विजयेश्वरी उमाविनजिकै डेरामा बसेर पढिरहेकी उनले घरको अवस्थाबारे धेरैसँग सोधपुछ गरिन्। प्राय सबैले ‘केही भएको छैन, बाआमा सन्चै छन्’ भनेर जवाफ दिए।
घटनाको चार दिनपछि सरकारी हेलिकप्टर राहत लिएर गाउँ पुगेपछि भने उनी छाँगाबाट खसेजस्तो भइन्। ‘गाउँका मान्छेले आज बिहानमात्रै तेरा बाआमालाई भेरीले बगायो भनेर सुनाए,’ उनले भनिन्, ‘बेहोस अवस्थामै हेलिकप्टरमा हालेर सुर्खेत ल्याए, कता जाने के गर्ने केही थाहा छैन।’
हरिहरपुर–५ सिस्नेरीमा बिहीबार राति भेरी नदीमा आएको बाढीले उनका बुबासँगै दुई आमा (सौतेनीसहित) लाई बगायो। दाइ कामका लागि भारत र भाउजू वीरेन्द्रनगर भएकाले बचे। कमला बसेको ठाउँमा पनि बाढी नआएको होइन। तर, भागेर माथि गएपछि ज्यान जोगियो। ‘बाआमाले यसरी छाडेर जानुहोला भन्ने कहिल्यै सोचेकी थिइनँ,’ गहभरि आँसु झार्दै उनले भनिन्, ‘के–के भयो, भयो…!’
जिल्लाका विभिन्न ठाउँमा एकैपटक गएको बाढीपहिरोले कमला र सुमित्राजस्ता धेरैको जीवनमा कहिल्यै नपुरिने घाउ बनाएको छ। मर्ने त मरेर गए, बाँच्नेलाई वियोगको पीडाले सताइरहेको छ। जिन्दगीभर कमाएको धनसम्पत्ति र घरजग्गा सबै बग्दा उनीहरूको भविष्य अन्योलमय भएको छ।

सुर्खेत जिल्ला प्रशासन कार्यालयका अनुसार सोमबारसम्म ३० जनाको मृत्यु भएको पुष्टि भएको छ भने १ सय ११ जना अझै बेपत्ता छन्।
सरकारी स्तरबाट बेपत्ताको खोजी र पीडितको समयमै उद्धार नहुँदा बाँचेकाहरूले थप पीडा खेपिरहेका छन्। यस्तो अवस्थामा विस्थापित भएर बसेकाहरूको दैनिकी निकै कष्टकर बनेको छ।
लेखपराजुल वडा नम्बर ४ र ५ का करिब ५० घरपरिवारको बास जंगलमा भइरहेको छ। थर्मुसेमा दुई दिनलाई पुग्ने चामल पुर्याडइए पनि डाँडाको लेखपराजुल गाउँमा भने अहिलेसम्म राहत पुग्न सकेको छैन।
‘बर्खाको बेला जंगलमा बसिरहेका छौं, पानी पर्दा हामीले जसोतसो सहे पनि बालबच्चा रातभरि रुन्छन्,’ स्थानीय जयबहादुर रोकायाले भने, ‘सरकार भने दुई क्विन्टल चामल पुर्याजएपछि फेरि फर्किएको छैन।’
जंगलको बासले विभिन्न रोगव्याधीको डर छ। लेखपराजुलका स्थानीय शिक्षक किरण भाटका अनुसार तीनवटा पालभित्र गाउँका १२ घरपरिवार खाँदिएर बसेका छन्। चिसोले आगो नबल्दा चुलोमा आगोसमेत बलेको छैन। उनीहरू चाउचाउको भरमा दिन काटिरहेका छन्। ‘बालबच्चा र बूढापाकालाई निमोनियाले भेट्टाइसकेको छ,’ भाटले भने, ‘दुईचार दिनसम्म यस्तै अवस्था रहने हो भने महामारीको अवस्था आउन सक्छ।’
हरिहरपुर, तातापानी, बाबियाचौर, तरंगालगायत नदी किनारक्षेत्रका विस्थापितमा खानेपानीको समस्या सबैभन्दा बढी चुनौती बनेको छ। उनीहरूसँग भेरीको धमिलो पानी पिउनुको विकल्प छैन। ‘अहिले पनि मान्छेका लास र पशुवस्तुको सिनो बगिरहेको देखिन्छ,’ हरिहरपुरका गाविस सचिव केशरबहादुर डाँगीले भने, ‘विस्थापितहरूले त्यही पानी पिइरहेका छन्।’
भेरी किनारका हरिहरपुरबासीले पहिलेदेखि नै भेरीको धमिलो पानी पिउँदै आए पनि यसपटक भने निकै अस्वस्थकर रहेको बताए।
चामल र चाउचाउ वितरणलाई प्राथमिकता दिएको स्थानीय प्रशासनले गाउँमा स्वास्थ्यकर्मी र स्वास्थ्यचेतना पुर्याूउन सकेको छैन। सडक अवरुद्ध हुँदा स्वास्थ्यकर्मी र रेडक्रसकर्मीहरू पनि प्रभावित क्षेत्रमा पुग्न सकेका छैनन्। सोमबारमात्र हेलिकप्टरमा केही स्वास्थ्यकर्मी र रेडक्रसका कर्मचारी तरंगा, हरिहरपुर, तातापानी क्षेत्रमा गएका छन्।
प्रभावित क्षेत्रमा पुगेर आएका सभासद तप्तबहादुर बिष्टले बाढीप्रभावित क्षेत्रका जनताको अवस्था निकै भयावह रहेको बताए। बेपत्ताको खोजी र जोखिममा परेकाहरूको उद्धार राज्यको पहिलो प्राथमिकता हुनुपर्ने उनको भनाइ छ। ‘जनतालाई एकातिर सर्वस्व गुम्दाको पीडा छ, अर्कातिर राम्ररी खानबस्न पाइरहेका छैनन्,’ उनले भने, ‘यो अवस्थालाई सामान्यीकरण गर्न अहिलेको भन्दा थप प्रभावकारी कदम चाल्नुपर्छ।’ नागरिकबाट


  •  
  •  
  •