बाढी पहिरोबाट पाँच वर्षमा १ हजार बढीको मृत्यु, ५ सय बढी बेपत्ता

299
  •  
  •  
  •  

badhi]
काठमाडौं, १० भदौ (ओएनएस) : देशमा पछिल्लो पाँच यता बाढी पहिरोका कारण एक हजार ३७ जनाको मृत्यु भएको छ।

तथ्यांक सार्वजनिक भएको छ । सो अवधिमा बाढी पहिरोका कारण ५ सय ३४ बेपत्ता र त्यति नै संख्यामा घाइते भएका छन् । आर्थिक वर्ष २०६९÷७० देखि हालसम्म बाढीबाट ४८० र पहिरोबाट ५५७ जनाको मृत्यु भएको छ ।

यस वर्ष बाढीका कारण बेपत्ता हुनेको सङ्ख्या पहिरोको भन्दा बढी रहेको तथ्याङ्कले देखाएको छ । बाढीका कारण ३४१ जना र पहिरोका कारण १९३ जना बेपत्ता भएका छन् ।

यस्तै, २०७१ साल साउन अन्तिम साता आएको ठूलो बाढीका कारण सुर्खेत, बर्दिया र दाङमा ठूलो मानवीय क्षति भएको थियो । बाढीका कारण सो अवधिमा ९४ घाइते, ५९ हजार ९४ परिवारको आंशिक घर क्षति, ३८ हजार ३६ र नौ हजार ८३८ घर पूर्ण रुपमा क्षति भएको गृह मन्त्रालयले जनाएको छ । सोही अवधिमा बाढीका कारण रु १५ अर्ब दुई करोड ७५ लाख ३६ हजार ७३९ अनुमानित क्षति भएको गृहमन्त्रालयको आँकडा छ ।

यस्तै यो पाँच वर्षको अवधिमा पहिरोको कारण मात्रै ५५७ को मृत्यु, १९३ बेपत्ता र ४४० जना घाइते भएका छन् । दुई हजार ८३९ परिवार प्रभावित हुँदा ७१६ घर आंशिक क्षति र ९०६ घर पूर्ण क्षति भएका छन् । पहिरोबाट सो अवधिमा रु एक अर्ब चार करोड ६२ लाख २४ हजार ५३७ अनुमानित क्षति भएको गृह मन्त्रालयको तथ्याङ्क छ ।

२०७१ साल साउन १७ गते सिन्धुपाल्चोकको जुरेमा आएको पहिरोको कारण ठूलो मानवीय क्षति भएको थियो । यहाँ १२३ जनाको मृत्यु भएको थियो ।

पछिल्लो पटक यो वर्ष आएको बाढीपहिरोको क्षतिबाहेक यो पाँच वर्षको अवधिमा बाढी पहिरोका कारण ६१ हजार ९३३ परिवार प्रभावित भएको र जसमध्ये ३९ हजार ९३ घर आंशिक क्षति तथा १० हजार ७४४ घर पूर्ण क्षति भएका छन् । बाढीपहिरोको कारण सो अवधिमा रु १६ अर्ब सात करोड ३७ लाख अनुमानित क्षति भएको गृहमन्त्रालयको आँकडा छ ।

बाढीका कारण भौतिक संरचनामा बढी क्षति भए पनि पहिरोको कारण मानवीय क्षति बढी हुने गरेको पछिल्लो पाँच वर्षको तथ्याङ्कले देखाएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बाढीपहिरोजस्ता विपद्का घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न मन्त्रालयले आवश्यक कदम चालिरहेको बताए ।

प्रमुख नदीमा जडान गरिएको पूर्व बाढी सूचना प्रणालीका कारण मानवीय क्षति कम हुँदै गएको गृह मन्त्रालयको भनाइ छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीभित्र पनि विपद्को समयमा राहत तथा उद्धारलाई केन्द्रमा राखेर छुट्टै गण तथा तालिम दिइराखेको उनी बताउँछन् ।

मन्त्रालयले पनि विपद् व्यवस्थापनसम्बन्धी विधेयकको खाका तयार पारिसकेको र छिट्टै मन्त्रिपरिषद् हुँदै संसद् लैजाने तयारी गरिरहेको छ । विपद् जोखिम व्यवस्थापन विज्ञ डा कृष्ण देवकोटाले नेपालको पहाडी क्षेत्र कमजोर भू–धरातल रहेकामा भुइँचालोपछि थप कमजोर बनेको तथा इञ्जिनियरिङ र भूगोलको अध्ययनबिना जथाभावी सडक निर्माणका कारण पहिरोका घटना बढ्दै गएको बताए ।

यस्तै चुरेको अति दोहन, छोटो समयमा अतिवृष्टि र राज्यले प्रभावकारी भूउपयोग नीति बनाउन नसक्दा वर्षेनी बाढीको कारण नेपालमा ठूलो धनजनको क्षति हुने गरेको छ । त्यसैमा भारतीय पक्षले नेपाली सीमामा लगाएका बाँधका कारण थप समस्या परेको छ ।

यस वर्ष बाढीबाट १५७ को मृत्यु

गृहमन्त्रालयका अनुसार गत साउन २७ गतेपछि केही दिन लगातार परेको वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १५७ र बेपत्ता हुनेका सङ्ख्या २९ पुगेको छ । मृत्यु हुनेमा रौतहट १८, झापा १६, मोरङ १६, सर्लाही १३, सुनसरी १२, महोत्तरी नौ, बाँके आठ, दाङ सात, सिन्धुली र पर्सा ६÷६ तथा मकवानपुर र चितवन पाँच÷पाँच जना रहेको छ ।

यो वर्ष बाढी पहिरोका कारण ४३ हजार ४०६ घर पूर्ण क्षति र एक लाख ५८ हजार १९४ घर आंशिक क्षति भएको गृह मन्त्रालयले जनाएको छ । एक लाख ४८१ जना बाढी पहिरोका कारण विस्थापित भएका छन् ।


  •  
  •  
  •