बाढीपीडितलाई रापती समाजको सहयोग

76
  •  
  •  
  •  

काठमाडौं, ३० भदौ (ओएनएस) : दाङका बाढिपीडितहरुका लागि रापति समाज काठमाडौँले संकलन गरेको राहत सामाग्री दाङका बाढिपीडितहरुलाई प्रदान गरिएको छ । रापति समाजले काठमाडौँमा संकलन गरेको सामाग्रीहरु जिल्लामा लिएर वितरण गरिएको हो । समाजका अध्यक्ष शशि शर्मा मजगैंयाको नेतृतवमा दाङ गएको समाजको टोलीले बाढीप्रभावित क्षेत्रहरु पञ्चकुले, पुरन्धारा र डुरुवामा करिब साढे ६ लाख बराबरका सामाग्रीहरु वितरण गरेको हो ।

समाजले सोमवार र मंगलवार प्रभावित क्षेत्रहरुमा नै पुगेर राहत वितरणको जिम्मा पाएका संघसंस्थाहरुको समन्वयमा सामाग्री वितरण गरिएको समाजका अध्यक्ष मजगैँयाले जानकारी दिए ।

उनकाअनुसार पञ्चकुलेमा १ लाख ५० हजार बराबरको ५ सय थान कपडा, २२ हजार १ सय बराबरको २६ सेट भाँडा वितरण गरेको थियो । त्यस्तै पुरन्धारामा ३ लाख बराबरको १ हजार थान कपडा, ७८ हजार २ सयको ९२ सेट भाँडा वितरण गरेको थियो भने डुरुवा गाविसमा ९० हजार बराबरको ३ सय थान कपडा वितरण गरेको थियो ।

६ लाख ४० हजार ३ सयको उक्त सामाग्रीहरु दैवी प्रकोप राहत मुल्यांकन समिति, रेडक्रस लगायतको सहयोगमा प्रदान गरिएको समाजका सदस्य गोविन्द मधुर आचार्यले बताए ।

उनले जिल्ला दैवी प्रकोप उद्धार समितिको सल्लाहमा आवश्यकताअनुसार ति स्थानहरुमा सामाग्री वितरण गरिएको बताए । यसैबीच समाजले संकलन गरेको नगद राहत रकम पनि दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरिएको छ ।

समाजले जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सो नगद रकम समितिलाई हस्तान्तरण गरिएको थियो । समाजका अध्यक्ष मजगैंया, सह–कोषाध्यक्ष शीमा पुरी, सदस्य गोविन्द मधुर आचार्यलगायतले नगद १ लाख १ हजार १ सय ५५ रुपैयाँ समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईलाई हस्तान्तरण गरेका थिए ।

राहत वितरणमा बोल्दै समाजका अध्यक्ष मजगैयाँले दाङका बाढीपीडितहरुलाई सहयोग गर्नका लागि काठमाडौँमा थालिएको अभियानमा राप्तीबासीहरुको राम्रो साथ रहेको बताए ।

‘राहत सामाग्री वास्तविक पीडितहरुले मात्र पाउनुपर्छ, समाजको यो पहिलो राहत सहयोग हो,’ उनले भने, ‘समाजले असोजको दोस्रो साता प्रत्यक्ष बाढि प्रभावित ठाँउमा पुगेर अझै थप राहत वितरण गर्ने योजना बनाएकाले नगद तथा जिन्ीस राहत सामग्री समाजलाई उपलब्ध गराउन सबैमा आग्रह गर्छु ।’


  •  
  •  
  •