बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको स्वास्थ्य शिविर सञ्चालन

283
  •  
  •  
  •  

apf
काठमाडौं, २ भदौ (ओएनएस) : बाढीबाट पीडित नागरिकको स्वास्थ्य उपचारका लागि सशस्त्र प्रहरी बल नेपालले बाढी प्रभावित जिल्ला महोत्तरी, सप्तरी र बाँकेमा स्वास्थ्य शिविर संचालन गरेको छ ।

महोत्तरी जिल्लास्थित गौशाला नगरपालिकाको भवनमा सशस्त्र प्रहरी बल नेपालद्वारा संचालन गरिएको स्वास्थ्य शिविरमा नेपाल एपीएफ अस्पतालका डा. रोशन झासहित सात जना स्वास्थ्यकर्मीहरु खटिएका छन् ।

यसैगरी सप्तरी जिल्लाको तिलाठी कैलाली गाँउपालिका–५ मा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा नेपाल एपीएफ अस्पतालका डा. मीना कुवँरसहित १० जना स्वास्थ्यकर्मीहरु खटिएका छन् भने बाँके जिल्लाको डुडुवा गाँउपालिका २ वेतहनी स्वास्थ्य चौकीको भवनमा संचालन गरिएको स्वास्थ्य शिविरमा सोही अस्पतालका डा. निसिता पाठकसहित १० जना स्वास्थ्यकर्मीहरु खटिएका छन् ।

सशस्त्र प्रहरी बल नेपालका स्वास्थ्यकर्मीहरुले ती स्वास्थ्य शिविरहरुमा पीडित स्थानीय वासिन्दाको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधी वितरण गरेका छन् ।

यसअघि बिहीबार बर्दिया जिल्लाको गुलरिया नगरपालिका ८ मा नेपाल एपीएफ अस्पताल र जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य शिविर संचालन गरेका थिए ।

बिहीबार भएको उक्त स्वास्थ्य शिविरमा स्थानीय वासिन्दाको स्वास्थ्य परीक्षण गर्नुका साथै ३ सय १९ जनालाई निःशुल्क औषधी वितरण गरिएको थियो ।

यसैगरी बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका ६ फत्तेपुर कर्मैया डाँडामा मंगलबार सशस्त्र प्रहरी बल नेपालसहित विभिन्न निकायका चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य शिविर संचालन गरी ७ सय ८० जनाको उपचार गर्नुका साथै निःशुल्क औषधी वितरण गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।


  •  
  •  
  •