काठमाडौं ३० साउन (ओएनएस) : तीन दिन देखी परेको अविरल बर्षाका कारण मुलक भरको जनजीवन प्रभावित भएको छ । अबिरल बर्षापछि आएको पहिरो र बाढीमा झण्डै तीन दर्जन भन्दा बढीको मृत्यु भइसकेको छ । आज मात्रै देशभर बाढी पहिरोको प्रकोपबाट ३४ को मृत्युभएको छ । हिजो १३ जनाको ज्यान गएको थियो। सुर्खेतमा १३ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । दाङमा ८ जनाको मृत्यु भएको छ भने केही बेपत्ता छन् । रुकुम पनि ३ जनाको मृत्यु भएको छ ।
यस्तै गोर्खामा ३ जनाको मृत्यु भएको छ भने धादिङमा पनि पहिरोले विद्यालय पुरिदा ३ जनाको मृत्यु भएको छ । बाँकेको फत्तेपुर–८ फुलैयामा ४ जना बेपत्ता भएका प्रहरीले जनाएको छ । रोल्पा र सल्यानमा पनि दुइ¬ दुइ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । बाढीका कारण तराईका जिल्लाका कतिपय स्थानमा डुबानको समस्या देखिएको छ भने पहिरोका कारण राष्टिय राजमार्ग अबरुद्ध बनेका छन् ।
अधिकाशं कच्ची सडक अबरुद्ध भएका छन् । बाढीका कारण बर्दिया सदरमुकाम गुलरिया र राजापुर क्षेत्र डुबानमा परेको छ । बाढीका कारण मध्यपश्चिमका बाँके, बर्दिया, दाङ र सुर्खेत बढि प्रभावित भएका छन् । जलतथा मौसम पूर्वानुमान शाखाका अनुसार कर्णाली चिसापानी र सुर्खेतमा गएराती अहिले सम्मकै ठूलो बर्षा भएको छ ।
बबई नदीमा पानीको सतह बढेपछि गुलरिया क्षेत्रका केही गाउँलगायत मनाउ, दौलतपुर, पाताभार, मोहम्मदपुर, नेउलापुर, शिवपुर, ठाकुरद्वारा बगनाह गाविसका विभिन्न वडाहरू डुबानमा परेका छन् । बाढीका कारण कुसुम्वा घाटमा नवनिर्मित झोलुङ्गेपुल बग्ने खतरा रहेको छ ।
कमला नदीको पूर्वी तटबन्ध भत्केर गाउँमा पसेको बाढीले सिरहाका–९ गाविस र सिरहा नगरपालिकाका केही भाग जलमग्न भएका छन् । बाढीबाट नौ गाविसका करिब ५०० परिवार घर छाडेर सुरक्षित स्थानमा भोकै रात बिताउन बाध्य भएका हुन् । गाउँमा बाढीको पानी २÷३ फिटसम्म जमेकाले फुसका घरहरू भत्किन थालेका छन् ।
विगत तीन दिनदेखि बाँके जिल्लालगायत मध्यपश्चिम क्षेत्रमा परिरहेको अविरल वर्षापछि राप्ती नदीमा जलस्तर बढेर गाउँमा बाढी पसेपछि स्थानीयवासीको भागाभाग भएको छ । बाँके जिल्लाको कुसुमस्थित बाढी मापन केन्द्रका अनुसार, नदीको जलस्तर ८ मिटर ३० सेमि पुगेको छ । नदीमा पानीको सतह ५ मिटर ४० सेमि पुग्यो भने खतराको चिह्नमा पुगेको मानिन्छ ।
नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध
नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलो भन्ने ठाउँमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान ११ः३० बजे खसेको पहिरोले सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै मुग्लिनतर्फ जाने र नारायणगढतर्फ आउने सवारी साधन रोकिएका छन् ।
कैलालीमा खतराको चिन्ह काट्यो
निरन्तरको वर्षासँगै कैलाली र बर्दिया जिल्लाको सीमा नदी कर्णालीमा पानीको सतह खतराको चिह्नभन्दा माथि पुगेको छ । पानीको सतह खतराको चिह्नभन्दा माथि पुगेपछि प्रहरीले नदी आसपासका बासिन्दालाई ‘माइकिङ’ गरी सुरक्षित स्थानमा जान सूचना गरेको छ । नदीमा उर्लिएर आएको बाढीमा गाई, बाख्रा, भैँसी बग्दै गरेको दृश्य देखिएकाले नदीको बाढीले पहाडी क्षेत्रमा क्षति पु¥याएको छ ।
बाढीमा परेर सुर्खेतमा १३ को मृत्यु
दिपेन्द्र ओली
सुर्खेत ३० साउन (ओएनएस) : तीन दिनदेखि लगायत परेको अविरल वर्षाका कारण सुर्खेतमा मात्रै आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । जिल्लाको इत्राम र खोर्के खोलाको किनारमा अहिलेसम्म १३ ओटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । १८ जना बेपत्ता छन् ।
प्रहरीका अनुसार शवहरु संकलन गरेर अस्पताल लैजाने क्रम जारी छ । केही मानिसलाई भेरी नदीले बगाएर बेपत्ता बनाएको हुनसक्ने शंका गरिएको छ । दैवी प्रकोप उद्धार समितिका अनुसार सुर्खेतमा २८ बर्षपछिको सबैभन्दा ठूलो बर्षा भएको छ । बाढी प्रभावितहरुको उद्धार र राहतका लागि अपनाउने रणनीतिको बारेमा छलफल गर्न जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक अहिले बसिरहेको छ ।
यसैबीच नेपाली काँग्रेस सुर्खेतका सभासद् तप्तबहादुर बिष्टले अझैपनि कतिपय स्थानमा सर्बसाधारण रुखमा चढेर ज्यान बचाइरहेको संसदको बैठकमा जानकारी गराएका छन् ।
दाङ
दाङको बबई नदीमा आएको बाढीमा परेर ४ जनाको र घर भत्कँदा थप २ जनाको मृत्यु भएको छ । उरहरी ६ मोतिपुरमा २ जना, डुरुवामा दुई जनाको र पुरन्धाराको गंगटेमा दुई जना गरी ६ जनाको शव फेला परेको छ । दुईजनाको मृत्यु भएको पुष्टि भएपनि शव बगाएर लगेको प्रहरीले जनाएको छ । उरहरी ६ मोतिपुरमा ६० वर्षे खुसिराम चौधरी र उनकी श्रीमतीको शब फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी चक्रराज जोसीले जानकारी दिए ।
बेपत्ता रहेका नुमकुमारी खत्रीको शब पनि फेला परेको प्रहरीले जनाएको छ । त्यसैगरी पश्चिम दाङको पुरन्धाराको गंगटेमा घर भत्कँदा आमाछोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख शरदकुमार खत्रीका अनुसार २६ बर्से देउकला कँवर र उहाँका ६ बर्से छोरी गंगा कुँवरको घरभत्किदाँ च्यापिएर मृत्यु भएको हो । प्रहरीका अनुसार उरहरी ६ मोतीपुरका दुई जना अझै बेपत्ता भएका छन् ।
त्यस्तै ९ बर्षीया लिला खत्री पनि बेपत्ता रहेको प्रहरीले जनाएको छ । उद्धारका लागि जिल्लामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । दाङ जिल्लाको घोराही तुलसीपुर र घोराही लमही सडक खण्डमा निर्मित जमिन मुनीको पुलका कारण समयमै प्रहरी उद्धारामा जान समस्या भएको थियो । खोलाहरुमा आएको बाढीका कारण घोराही तुलसीपुर र लमही घोराही सडक खण्डमा हिजो बेलुका देखिनै सवारी साधन पूर्ण रुपमा ठप्प बनेका थिए । यसैबीच लगातारको वर्षासंगै आएको पहिरोमा परी रुकुमका विभिन्न २ स्थानमा गरी ३ जनाको मृत्यु भएको छ ।
जिल्लाको चुन्वाङ ८ सिन्चौरमा नन्दराम घर्तीको घर पहिरोले पुर्दा उनकी ७ बर्षका छोरा विजय र १० बर्षका छोरी विमला घर्तिको मृत्यु भएको छ । पहिरोमा परी १४ बर्षका पुर्णीमा घर्ती र रुकुमकोटबाट पाहुना आएका ६ बर्षका कमला मल्ल घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख प्रहरी नायव उपरिक्षक गौतमराज कट्टेलले जानकारी दिए ।
त्यसैगरी रुकुमको स्यालापाखा गाविस १ वतासेडाँडामा पहिरोले हिरालाल वस्यालको घर पुरिएर उहाँको १० बर्षिय छोरी कल्पना वस्यालको ज्यान गएको छ ।