एमालेमा पाँच उपाध्यक्ष पाँच सचिव

126
  •  
  •  
  •  

काठमाडौं २१ जेठ (ओएनएस) : एमाले नवौं महाधिवेशनका लागि केपी ओली पक्षले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई ‘वरिष्ठ उपाध्यक्ष’ को उम्मेदवार घोषणा गरिसकेको छ। तर माधव नेपाल पक्षका पार्टी सचिव युवराज ज्ञवाली प्रमुख रहेको संगठन विभागले तयार पारेको विधान संशोधन प्रस्तावमा उक्त पद नै राखिएको छैन।
सचिव ज्ञवालीले नवौं महाधिवेशनपछि पार्टीमा पाँच उपाध्यक्ष र पाँचजना सचिव हुने गरी विधान संशोधन प्रस्ताव तयार पारेका छन्। संगठन विभागका सदस्यलाई मंगलबार वितरण गरिएको विधान संशोधन प्रस्तावमा वरिष्ठ उपाध्यक्ष पद नराखिएपछि यो विषय पनि विवादित हुने भएको छ। महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव यसअघि पारित राजनीतिक प्रतिवेदनअनुरूप नआएपछि विवाद भएको छ। यो मंगलबार पनि पारित हुन सकेन।
सचिव ज्ञवालीले विधान संशोधन प्रस्तावबारे छलफल गर्न बुधबार बिहान संगठन विभागको बैठक डाकिएको बताए। ‘विधान संशोधन प्रस्ताव टुंगिएको छैन, बुधबारको बैठकले टुंगो लगाउँछ, त्यसपछि मात्र केन्द्रीय कमिटीमा बाँडिन्छ’, उनले भने।
ओलीलाई अध्यक्षको उम्मेदवार घोषणा गर्दा जेठ ५ गते एमाले उपाध्यक्ष विद्या भण्डारीले गौतमलाई वरिष्ठ उपाध्यक्षको उम्मेदवार भनेकी थिइन्। उक्त पक्षले ओली अध्यक्ष निर्वाचित भए गौतमलाई संसदीय दलको नेता र ओली प्रधानमन्त्री भए गौतम कार्यवाहक अध्यक्ष स्वत: हुनेगरी वरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरेको थियो।
अर्का सचिव शंकर पोखरेलले विधानमै वरिष्ठ उपाध्यक्ष पद आवश्यक नहुने बताए। उनले भने, ‘वरिष्ठ भनेको जिम्मेवारीको कुरा हो। विधानमै त्यस्तो व्यवस्था गर्नु जरुरी छैन, उपाध्यक्षहरूमध्ये वरिष्ठ उपाध्यक्ष भनेर केन्द्रीय कमिटीले निर्णय गरे हुन्छ।’
विधान संशोधन प्रस्ताव तयार पार्न ज्ञवालीलाई सहयोग गर्ने पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले वरिष्ठ उपाध्यक्ष पद नराख्नुको कारणबारे अन्नपूर्णसँग भने, ‘कोही व्यक्तिका लागि हेरेर विधानमा पद सिर्जना गर्नु हुँदैन। पार्टीको आवश्यकताअनुसार मात्र पद सिर्जना हुनुपर्छ। त्यसैले वरिष्ठ उपाध्यक्ष पद नराखिएको हो।’ उनी नेपाललाई अध्यक्ष बनाउनुपर्ने पक्षमा छन्।
पार्टीको वर्तमान विधानमा अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव र तीनजना सचिवको व्यवस्था छ। संशोधन प्रस्तावमा दुई उपाध्यक्ष र दुईजना सचिव थप्नुपर्ने उल्लेख छ। अशोक राईले पार्टी त्यागेपछि रिक्त उपाध्यक्ष पद पूर्ति गरिएको छैन। अघिल्लो कार्यकालको पार्टी प्रमुखका लागि मर्यादाक्रममा दोस्रो स्थान दिने गरी वरिष्ठ नेताको व्यवस्था छ।
संशोधन प्रस्तावमा पाँच उपाध्यक्षको जिम्मेवारी के भन्ने उल्लेख नभए पनि पाँच विकास क्षेत्रमध्ये प्रत्येक उपाध्यक्षलाई एक क्षेत्रको पार्टीको संयोजन, अनुगमन र समन्वय गर्ने गरी जिम्मेवारी तोक्न सकिने ज्वालाले बताए । महासचिवले सिंगै संगठनको नेतृत्व गर्नेछन्। उनले भने, ‘पाँच सचिवमध्ये पनि एकजनालाई संगठन, एकजनालाई जनवर्गीय संगठन, एकजनालाई आर्थिक पक्ष, एकजनालाई प्रचार विभाग र एकजनालाई विदेश मामिला हेर्ने गरी जिम्मेवारी तोक्न सकिनेछ।’
एमाले केन्द्रीय कमिटीको मंगलबारको बैठकमा पनि महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको महाधिवेशनमा पेस गर्ने संगठनात्मक प्रस्तावमाथि छलफल जारी छ। बैठकमा बोल्ने धेरैजसोले पारित राजनीतिक प्रतिवेदनसँग मेल खाने गरी पुनर्लेखन गर्नुपर्ने बताएका थिए। केन्द्रीय कमिटी बैठक बुधबार पुन: बस्नेछ। सो बैठकमा विधान संशोधन प्रस्ताव पनि वितरण गरिनेछ। अन्नपूर्णबाट

  •  
  •  
  •