५ करोडको विरोधमा कांग्रेस नेताहरू

268
  •  
  •  
  •  

काठमाडौ, २८ असार (ओएनएस) । सरकारले प्रत्येक निर्वाचन क्षेत्रलाई पाँच करोड रुपैया दिने तयारी गरिरहेकै बेला सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेताहरूले भने यसको विरोध गरेका छन् ।

शनिवार रिपोर्टर्स क्लब नेपालको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका युवा नेता विनोद कायस्थले संसदीय व्यवस्थामा जनताको समस्या समाधान, विधी निर्माण र सरकारको कामको अनुगमन गर्ने काम संसदको भएको भन्दै सभासदलाई पाँच करोड दिने कुरा वीपीवाद, समाजवाद, उदारवाद र लोकतान्त्रिक मुल्यमान्यताको विरोधी हुने जिकिर गरे ।
कार्यक्रममा उनले सभासदहरूलाई सिधै पाँच करोड रुपैया दिए त्यसले मुलुकमा फेरि भ्रष्टाचारको पुनराबृत्ति गर्ने दावी गर्दै योजना बनाएर समानुपातिका विकास गराउन तर्फ लाग्नु पर्नेमा जोड दिए ।

नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा केदार नरसिंह केसीले योजना पारेर पैसा निकासा गराउन उचित भए पनि हरेक सभासदलाई पाँच करोड रुपैया दिने कुरा लोकतान्त्रिक मुल्य मान्यता विपरितको निर्णय भएको बताए । उनले संसदीय पद्धतिमै नभएको कुरा नेपालमा हुन लागेको भन्दै उत्पादनमा जोड दिनु पर्ने बेलामा यस्तो निर्णयले मुलुकलाई पुन भ्रष्टाचार र अविकास तिर फर्काउने दावी गरे ।

तरुण दलका पूर्व महासचिव पुष्पराज पराजुलीले मुलुक सक्रमणकालमा रहेको बेला यसरी पैसा माग्नु र दिनु ठिक नहुने भन्दै संविधान लेख्न आएका सभासदहरू विकासको ठेकेदार भएर मैदानमा उत्रनु नहुने जिकिर गरे । उनले पाँच करोड नदिए बजेट नै ल्याउन दिन्न भन्नु अलोकतान्त्रिक भएको भन्दै अर्थमन्त्रीले दृढतापूर्वक दिन सकिदैन भनेर भन्न सक्नु पर्ने बताए ।

नेपाल भुतपूर्व सैनिक संघका अध्यक्ष नारायण कोइरालाले पाँच करोड दिने निर्णयले मुलुकमा कुसस्कार भित्राउने भएकोले यस्तो निर्णय आपत्तिजनक भएको बताए । उनले १० लाख रुपैयाको उपयोग गर्न नसकेको अवस्थामा पाँच करोडको सदूपयोग हुने आधार नभएको भन्दै यसले मुलकलाई पुन अधिनायकबादतर्फ उन्मुख गराउने चेतावनी दिए । उनले भने–यसले विकास होईन, मुलुकमा विनास निम्त्याउँछ ।


  •  
  •  
  •