टेलिकमले ल्यायो ‘फाइबर टु होम’ सेवा

289
  •  
  •  
  •  

काठमाडौं ,२१ भदौ (ओएनएस) ः दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले ‘फाइबर टु होम’ को सेवा सुभारम्भ गरेको छ । अप्टिकल फाइबरमा आधारित  यो सेवाले  ग्राहकहरुलाई तिब्र गतिको डाटा तथा भ्वाइस सेवा प्रदान गर्ने टेलिकमले जानकारी दिएको छ ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले फाइबर टु होम सेवाको औपचारिक सुभारम्भ गरे ।‘नेक्ट्स जेनेरेसन नेटवर्क’ प्रविधिमा आधारित यो सेवा पहिलो चरणमा  काठमाडौंको दरबारमार्ग, कमलादी, काठमाडौं प्लाजा र जमलमा उपलब्ध हुने बताइएको छ ।

सेवालाई ‘एनटी फाइबर’ को नामबाट बजारीकरण गर्ने टेलिकमा प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यले जानकारी दिए ।

हाल यस सेवामार्फत उच्च गतिको डाटा सेवालगायत आइपी बेस्ड भ्वाइस सेवा उपलब्ध हुने आचार्यले जानकारी दिए । ‘केही समय पश्चात मल्टिमिडिया सेवा समेत उपलब्ध गराउने हाम्रो योजना रहेको छ’ उनले भने  । तत्कालाई सिमित क्षेत्रमा उपलब्ध गराएको यो सेवा विस्तारै राजधानीका अन्य क्षेत्र र उपत्यका बाहिरका मुख्य शहरहरुमा विस्तार गर्ने उनले बताए ।

सुरुमा काठमाडौं उपत्यकाभित्र ठमेल, लाजिम्पाट, सोह्रखुट्टे, चावाहिल, गौशाला, बिशाल नगर, सिनामंगल, बत्तिसपुतली, धुमबाराही, स्वयम्भू, क्षेत्रपाटी, बौद्ध, सितापाइला, पूरानो बानेश्वर, कलंकीलगायत स्थानमा यो सेवा प्रद्यान गरिने छ । पछी भरतपुर,पोखरा, विराटनगर, बुटवललगायत स्थामा फाइबर टु होम सेवा विस्तार गर्ने बताइएको छ ।

यी क्षेत्रहरुमा आगामी ५ महिनाभित्र सेवा विस्तार भइसक्ने टेलिकमले जानकारी दिएको छ ।

फाइबर टु होम सेवामार्फत अनलिमिटेड तथा भोल्यूम बेस सेवा १ एमबीपीएस देखि १ सय  एमबीपीएससम्मको गतिमा प्राप्त गर्न सकिने छ । ‘तत्काल कर्पोरेट हाउसलाई लक्षित गर्दै सेवा सुभारम्भ गरेका हौं’ प्रबन्ध निर्देशक आचार्यले भने– ‘विस्तारै सर्वसाधारणको घर–घरमा यो सेवा पु¥याउने योजना छ । ’

नयाँ सेवाले वजार विस्तारमा सहयोग पुग्ने सुचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले बताए । टेलिकमले आफ्नो ल्याण्डलाइन सेवालाई बलियो बनाउनुपर्ने बताए । ‘अन्य दुरसञ्चारसेवा प्रदायकसँग यो सेवा नभएकोले टेलिकमलाई बलियो बनाएर अगाडी बढ्दा बजार विस्तारमा सहयोग पुग्छ’ उनले भने ।

टेलिकमले यस सेवालाई सरकारको दूरसञ्चार नीतिको लक्ष्य हासिल गर्ने एक सहायक कार्यको रुपमा लिएको उनको भनाइ छ ।

साथै उनले नव नियुक्त प्रबन्ध निर्देशकबाट सरकारले ठूलो आशा गरेको जानकारी दिए ।
प्रविधिको विकासँगै  निजी, सरकारी सेवा तथा व्यापारिक गतिविधिहरु इन्टरनेटको माध्यमबाट हुन लागेको प्रबन्ध निर्देशक आचार्य बताउँछन् ।
के हो फाइबर टु होम सेवा ?

फाइबर टु होम तिब्र गतिको इन्टरनेट सेवा दिनका लागि एनजिएन प्रविधिमा आधारित  टेक्नोलोजी हो । यो प्रविधिबाट ग्राहकले  तिब्र गतिको इन्टरनेट चलाउन पाउने छन् । १ सय एमबीपीएससम्मको गतिमा इन्टरनेट डाटा सेवा यस प्रविधिबाट उपभोग गर्न सकिन्छ । साथै आवश्यकता अनुसार यो गतिलाई बढाउन पनि सकिन्छ ।
एउटै लिंकबाट तिब्र गतिमा इन्टरनेट पनि चलाउन सकिने, भ्वाइस सेवा पनि लिन सकिने र टिभी पनि हेर्न सकिने प्रविधि हो ।

सेवा लिन चाहने ग्राहकहरुले नेपाल टेलिकममा निवेदन दिनुपर्छ । त्यसपछि टेलिकमबाट कष्टुमर प्रमिसेस इक्यूपमेन्ट (सीपीई) डिभाइस खरिद गर्नुपर्छ । फाइबर टु होम सेवा जडान गर्दा ग्राहकले रजिष्ट्रेसन दस्तुर ५ सय रपैयाँ बुझाउनुपर्छ ।


  •  
  •  
  •