असारदेखि आर्थिक वर्ष सुरु गर्ने तयारी

173
  •  
  •  
  •  

सुर्खेत, २८ चैत (ओएनएस) : सरकारको नीति, कार्यक्रम तथा बजेटमा जनताका मागलाई समेट्ने उद्देश्यले व्यवस्थापिका संसद् अन्तर्गतको आर्थिक समितिले पहिलो पटक पूर्व ‘बजेट सम्बन्धी छलफल’ जिल्लास्तरमा सुर्खेतबाट सुरु गरेको छ । समितिले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सरोकारवालाहरुबीच पूर्व बजेटका बारेमा छलफल गरी सुझाव संकलन गरेको हो ।

समितिका सभापति प्रकाश ज्वालाले अहिले सरकारले बजेट भाषण गरेपछि संसद्मा मात्र छलफल हुने परिपाटीलाई तोड्दै पूर्व बजेटमाथि जनस्तरमा छलफल सुरु गरिएको बताए । जनता र संसदमा पनि अब पूर्व बजेटमाथी छलफल हुने उनले जानकारी दिए ।

विभिन्न जिल्लाहरुमा पूर्व बजेटमाथी छलफल गरी आएका सुझाव र मागलाई नीति तथा बजेटमा समावेश गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने समितिले जनाएको छ । समितिले नीति तथा बजेट पूर्व संसद र जनस्तरमा व्यापक छलफल गर्ने तर बजेट भाषणपछि सहमति असहमति जे भए पनि स्वतः पारित हुने खालको व्यवस्था ल्याउने तयारी भैरहेको समितिका सभापति ज्वालाले बताए ।

उनले भने, ‘समितिले आार्थिक बर्ष परिवर्तन गर्नका लागि बिशेष जोड दिएको छ । अहिले साउनदेखि सुरु हुने आर्थिक वर्ष अब असारदेखि सुरु गर्ने समितिको योजना छ । समितिले आगामी आर्थिक वर्षदेखि नै असार महिनादेखि नयाँ आर्थिक बर्ष सुरु गर्न अर्थमन्त्रालयलाई सुझाव दिएका र्छौं ।’

समितिको योजना अनुसार नयाँ आर्थिक वर्ष सुरु हुनु अघि जेठसम्ममा नीति तथा कार्यक्रम र बजेट ल्याइसक्ने र असारमा नयाँ बजेट पारित गर्नुपर्छ । छलफलमा सहभागी कर्मचारी, राजनीतिकर्मी, नागरिक समाज लगायतले सरकारको आगामी नीति तथा बजेटमा जनस्तरबाट प्रक्रिया पूरा गरी योजना आयोगमा गएका योजनालाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् ।

कार्यक्रममा समितिका सदस्य एवं सभासद दलबहादुर सुनार, जगदिशनरसिंह केसी, गोमा कुँवर, केशव बडाल लगायतको उपस्थिति रहेको थियो ।


  •  
  •  
  •