‘पहिले किताब, लुगा पछि फेरौंला’

46
  •  
  •  
  •  

काठमाडौं २४ जेठ ।
सदरमुकाम गोरखाबजारस्थित महेन्द्रोदय उच्च मावि। कक्षा सात। अन्तिम लहरमा बसेका छन् १३ वर्षे मोहन गुरुङ। सबै विद्यार्थी विद्यालय पोसाकमा छन्। उनी छैनन्। घुर्मैलो टोपी, लामबाउले टिसर्ट, खुइलिएको जिन्स पाइन्ट अनि चप्पल।

४१ दिनदेखि आङले अरू लुगा पाएका छैनन्। त्यही स्कुल युनिफर्म, घर बस्दा लगाउने पनि त्यही। उसै गरी ओइलाएको छ मुहार। पहिले साथीभाइसँग हाँसीखुसी पढ्ने गुरुङ अहिले निराश छन्।

वैशाख १२ को भूकम्पले सर्वस्वसँगै यी बालकको तेज पनि लुटेको छ। प्रकृतिको निर्मम प्रहारले परिवारका दुई सदस्य खाइदियो, अन्नपात केही बाँकी राखेन। ओतै खोसिदियो। भूकम्पपछि गाउँको विद्यालय ब्युँतिनै सकेन। उनीचाहिँ पीडा भुलेर बौरिने प्रयास गर्दै छन्। त्यसैले पढ्नकै लागि सदरमुकाम झरेका छन्। बिहीबार पहिलोपटक कक्षा छिरे। तर, नयाँ विद्यालयमा नौला सहपाठीका अनेक जिज्ञासाले उनको पीडा झन् बल्झाइदिन्छ। आँखा भरिएर आउँछन्।

‘फेर्ने लुगा नै छैन, सबै भुइँचालोले पुरिदियो,’ सुँक्क गर्दै उनले भने, ‘घरमा हुन्थेँ त मलाई पनि सक्थ्यो होला।’
वैशाख १२ को भूकम्प केन्द्रविन्दु बारपाक–२, मान्द्रेका बासिन्दा। त्यस दिन विद्यालय बिदा भएकाले गाउँछेउकै जलविद्युतलाई बालुवा ओसार्न गएका थिए उनी। त्यसैले जोगिए। तर, घर पुग्दा भाउजू विनीता र एकवर्षे रितम बाँकी थिएनन् । अन्नपात, धनसम्पत्ति भत्किएको घरसँगै पुरिइसकेका थिए। त्यहीँभित्र बिलाए उनका विद्यालय पोसाक, पुस्तक र दुई–चार जोर कपडा। त्यसैले डेढ दिनदेखि एउटै लुगाले गुजारा गरिरहेका छन्।

आर्थिक अवस्था कमजोर भएकै कारण दाजु सूर्य छ महिनाअघि मात्रै परिवार छाडेर मलेसिया हान्निएका थिए। आमाबुबालाई सघाउनकै लागि सानै उमेरदेखि पसिना बगाउन थालेका थिए मोहनले पनि। त्यसैले ५ सय रुपैयाँ कमाउन बिदाका दिन बालुवा बोक्न जान्थे।
भूकम्पपछि गाउँमा एउटै घर ठाडा छैनन्। स्थानीय भगवती निमावि तत्काल सञ्चालनै हुन नसक्ने गरी क्षतिग्रस्त छ। मोहनले त्यही स्कुलबाट ६ कक्षा पास गरे। जे नहुनु भइसकेकै थियो, हत्ते गर्दैमा नियति बदलिँदैन। त्यसैले उनी सम्हालिएर थप पढ्न चाहन्थे। तर, कसरी? न घर न विद्यालय। न किताब न पोसाक। अन्यत्र राखेर पढाउने क्षमता परिवारसँग छैन। ३९ दिनसम्म गाउँमै अलमलिए पनि अन्ततः पढाइ सञ्चालन भइसकेको खबरले उनको छटपटी बढ्यो।

४०औं दिन भने आमा रसमायाको साथ लागेर सदरमुकाम आए। जहाँ उनकी फुपू छिन्। मोहन अब फुपूको रेखदेखमा बसेर त्यहीँ पढ्ने भएका छन्। आमाले कान्छी छोरीसँग ५ हजार सापटी लिएर उनलाई महेन्द्रोदयमा भर्ना गरिदिएकी छन्। सदरमुकाम आउँदा निकै दोधारमा थिए मोहन। ‘बुबा गाउँमै हुनुहुन्छ, बारीको पाटोमा त्रिपाल ओढेर बसिरहनुभएको छ, आमा पनि त्यहीं फर्कनुपर्छ,’ उनले भने, ‘बुबाआमालाई त्यो अवस्थामा छाडेर बस्न मन थिएन तर पढाइ पनि त छाड्न भएन। त्यसैले फुपूकोमै बस्ने भएँ।’ मोहनका दुई दिदी बिहेबारी गरेर अन्यत्र गइसकेका छन्।

नयाँ विद्यालय। नौला साथीहरूका बीच बिहीबार पहिलो कक्षा लिँदै थिए उनी। सबै विद्यार्थीका अगाडि ब्याग छन्। मोहनचाहिँ अन्तिम लरहमा किताबकापी हातमा च्यापेर बसिरहेका थिए। नयाँ ठाउँ, नौलो परिवेशमा उनलाई झ्याम्मिनै गाह्रो परेको छ। त्यसमाथि बढेहुर्केको गाउँ, बाबुआमा र साथीभाइसँग छुट्टिनुपर्दाको न्यास्रो पनि अनुहारमा प्रस्टै देखिन्थ्यो।

कक्षाका अन्य विद्यार्थी उनलाई नौलो प्राणीझैं एकोहोरो हेरिरहेथे। नाम सोध्थे, घर सोध्थे, त्यहाँ आउनुको कारण सोध्थे। महिनौंसम्म भूकम्पको त्रास, परिवारसँग छुट्टिनुपर्दाको पीडा अनि गाउँको न्यास्रो खेपिरहेका उनी सकेसम्म नयाँ साथीलाई निराश पार्न चाहँदैनथे। दबिएकै आवाजमा सही, बोल्न खोज्थे। तर, बोल्दाबोल्दै आँखा भरिन्थ्यो। भक्कानो छुट्थ्यो।

गाउँको विद्यालय पढ्दा एकै कक्षामा २४ जना साथी थिए। सबैसँगै उत्तिकै हाँसखेल गर्थे मोहन। अहिले एकै कक्षामा ५७ जना छन् तर कसैलाई चिन्दैनन्। यति भने उनलाई थाहा छ, भूकम्पले खोसेर लगेको सह फर्काउन त्यही परिवेश र तिनै साथी सहयोगी बन्नेछन्। ‘पहिलो दिन भएकाले अलि गाह्रो भएको छ, बिस्तारै बानी परिन्छ होला,’ उनले चित्त बुझाए।

बुधबार विद्यालय भर्नापछि रसमायाले आफ्नो सानो बजेटबाट छोराका लागि थप १ हजार खर्च निकालिन्। त्यसले के किन्ने, पोसाक कि किताब? मोहनले किताबै किन्नु सही ठाने। ‘लुगा त जस्तो लगाए नि हुन्छ, किताबै नभए कसरी पढ्नू,’ उनले भने, ‘आमासँग भएको दुई–चार हजार सकिए घर कसरी फर्कने? घरमा अन्नपानी छैन। त्यसैबाट दुई–चार छाक टर्ने सामान पनि बोकेर जानु छ।’ नागरिकबाट


  •  
  •  
  •