धनगढी, ६ असोज (ओएनएस) : कैलालीको बौनिया गाविसमा आगजनी भएको छ । बुधबार बिहान गाविस कार्यालयमा आगजनी भएको कैलालीका प्रमुख प्रमुख, प्रहरी उपरीक्षक विक्रमबहादुर चन्दले जानकारी दिए ।
प्रहरी उपरीक्षक चन्दले गाविस कार्यालयमा आगजनी भएको छ, कसले र किन आगजनी गर्यो भन्नेबारे खुल्न सकेको छैन । आगजनीबाट दुई तले भवनका दुई वटा कोठामा पूर्ण रुपमा क्षति पुगेको छ । गाविसमा रहेका कागजातसँगै दुई दराज, दुई टेबल, दुई कुर्सी, दुई पंखा पनि जलेको जनाइएको छ ।
स्वास्थ्य चौकीसँगै रहेको गाविस कार्यालयमा आगजनी भएपछि स्वास्थ्य चौकीका कर्मचारीहरुले इलाका प्रहरी कार्यालय जोशीपुरलाई खबर गरका थिए ।
प्रहरी निरीक्षक देवेन्द्र शर्माको नेतृत्वमा रहेको नेपाल प्रहरी र सशत्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो । प्रहरी उपरीक्षक चन्दले घटनाबारे गहन अनुसन्धान थालिएको बताए ।
केही दिन अघि मात्र प्रहरी चौकीमा आगजनी भएको थियो । उनले भने, ‘फेरी गाविस भवनमा आगजनी भएको छ । हामीले अनुसन्धान थालेका छौं । संलग्नलाई कारवाही गर्छौ ।’
सोमबार बिहान मात्र पवेरा गाविसको छोट्की पलियास्थित प्रहरी चौकीमा आगजनी तथा भजनी-त्रिशक्ति नगरपालिका गञ्जहुवामा भएको तोडफोड भएको थियो भने लम्कीमा बम विस्फोट भएको थियो । टीकापुर घटनापछि स्थानीय प्रशासनले प्रहरी चौकीमा रहेका प्रहरीहरुलाई नजिकैका ईलाका प्रहरी कार्यालयमा सारेको थियो ।
चौकीमा आगजनीको जिम्मा लिएको आन्दोलनरत थरुहट/थारुवान संयुक्त संघर्ष समितिले गाविस कार्यालयमा भएको आगजनीको जिम्मेवारी भने लिएको छैन् । संघर्ष समिति कैलालीका प्रवक्ता माधव चौधरीले गाविस कार्यालयमा आगजनी भएको सूचना आएपनि कसले गरेको हो भन्ने जानकारी नभएको बताए ।