डडेलधुरा सदरमुकाममा भिषण आगलागी

173
  •  
  •  
  •  

डडेलधुरा, १७ बैशाख(ओएनएस) : डडेलधुरा जिल्ला सदरमुकाम बागबजारमा आज बिहानदेखि भिषण आगलागी भएको छ । बिहानदेखि लागेको आगोका कारण तीनवटा पसल जलेर नष्ट भएका छन् भने अन्य घर तथा पसलमा समेत क्षति पुगेको छ ।

मुख्य बजारमा रहेको गद्दा पसलबाट सुरू भएको आगलागीका कारण मदन प्रकाश किराना पसल, वैजनाथ कपास उद्योग आगोलागीबाट पूर्ण रूपमा क्षति भएका छन् । कञ्चन विकास बैंक, ग्रीन क्याफे, ग्रीन होटेल लगायतमा पनि आगालागीका कारण क्षति भएको बताइएको छ ।

आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली केही समयभित्रै पुगेपनि आवश्यक आगलागी नियन्त्रणका औजारहरु नहुँदा आगो नियन्त्रण लिन कठिनाइ भएको छ ।

खानेपानीको समेत हाहाकार रहेको डडेलधुरा सदरमुकाममा आगलागी हुँदा नियन्त्रण गर्न कठिन भइरहेको स्थानीयहरुले बताएका छन् । आगो नियन्त्रणको क्रममा ३ जना सुरक्षाकर्मीसमेत घाइते भएका छन् ।

आगलागी नियन्त्रण गर्न बैतडी र डोटीबाट समेत दमकल मगाइएको प्रहरीले जनकारी दिएको छ ।

आगो नियन्त्रणमा लिन डोजरको प्रयोग गरिएको छ भने स्थानीय सर्वसाधारणहरुले सहयोग गरेका छन्। आगलागी २ घण्टापछि मात्रै नियन्त्रण आउन सकेको हो। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।


  •  
  •  
  •