स्टार्टअप फण्डले युवा उद्यमीलाई सहयोग पुग्छ : अर्थमन्त्री

194
  •  
  •  
  •  

काठमाडौं, ३० असार (ओएनएस) । अर्थमन्त्री डा.रामशरण महतले आर्थिक बर्ष २०७१÷०७२ को बजेटमा ‘स्टार्ट अप फण्ड’को व्यवस्थाले युवा उद्यमीलाई सहयोग पुग्ने बताएका छन् । नयाँ विचार भएका तर लगानी योग्य पूँजी स्रोत नभएका साना तथा मध्यम व्यवसायी,आविष्कारकर्ता तथा उद्यमीलाई पूँजी उपलब्ध गराई प्रोत्साहन गर्न कोषले सहयोग गर्ने उनले जानकारी दिए ।

यो कोषमा सरकारले रु ५० करोडको बीउ राखी गैर आवासिय नेपाली र निजी क्षेत्रलाई समेत पूँजी लगाउन आवह्वान गर्ने उनले बताए । नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको पोष्ट बजेट अन्तरक्रियामा अर्थमन्त्रीले यस्तो बताएका हुन् ।

मन्त्री महतले यो बजेट वितरणमूखी भएको स्वीकार गरे । ‘सामाजिक सुरक्षा, कर्मचारीको तलव, राहतका प्याकेजलगायतका सन्दर्भमा यो वितरणमूखी देखिएको छ’ उनले भने । सो अवसरमा उनले आगामी आर्थिक बर्षमा नेपालले सहज रुपमा ६ प्रतिशतको बृद्विदर हासिल गर्ने दावी गरे । विनियोजित बजेट पूर्णरुपमा खर्च गर्न सक्दा र नीतिगत सुधारका कारण निजी क्षेत्रले लगानी बढाउँदा आर्थिक बृद्विदर लक्ष्य अनुसार हासिल गर्न सकिने उनले जानकारी दिए । तीन बर्ष भित्र लोडसेडिङ अन्त्य हुने र उर्जा उत्पादनका लागि पर्याप्त स्रोतको व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

त्यसैगरी उनले सभासदलाई सिधै रकम दिने व्यवस्था नभएकोले रकमको दुरुपयोग नहुने दावी गरे । ‘निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि दिने पैसा जिल्ला विकास समिति मार्फत जाने र त्ये पैसा खर्च गर्न छुट्टै सयन्त्र बनाउने भएकोले रकम दुरुपयोग हुदैन’ उनले भने । अर्थमन्त्रीले आइतवार व्यवस्थापिका संसदमा आगामी आर्थिक बर्षका लागि ६ खर्ब १८ अर्वको बार्षिक बजेट प्रस्तुत गरेका थिए ।


  •  
  •  
  •