एमाओवादी अनुपस्थित भएपछि अर्थ समितिको बैठक एजेण्डामै प्रवेश नगरि स्थगित

398
  •  
  •  
  •  

byawastika-samsadh-270x120काठमाडौं, १५ माघ (ओएनएस) : विपक्षी दल एमओवादीका सभासदहरु अनुपस्थित भएपछि व्यवस्थापिक संसदको अर्थ समितिको बैठक एजेण्डामै प्रवेश नगरि स्थगित भएको छ ।

बैठकमा पुराना सार्वजनिक साधनको ब्यवस्थापन गर्न चार महिनाअघि दिएको निर्देशन बारे सरोकारवालासँग छलफल गर्ने कार्यसुची थियो । सभासदहरुले एमाओवादीका सभासदहरुलाई अर्काे बैठकसम्म कुर्नपर्ने राय राखेकोले स्थगित गरिएको समितिका सदस्य सभासद जगदिश्वर नरसिंह केसीले ओएनएसलाई जानकारी दिए ।

‘ एमाओवादीले संसद तथा संविधासभाको बैठक बहिष्कार गर्ने निर्णय गरेपछिको यो पहिलो बैठक हो । ’ केसीले भने, ‘उहाँहरुले हतासमा गर्नुभएको बहिष्कार गर्ने निर्णय सच्चाएर समितिको बैठकमा आउन आग्रह गर्दै समितिको बैठक स्थगित भएको हो ।’

यसअघि बुधबार बसेको एमाओवादीको संसदीय दलको बैठकले संविधानसभा तथा संसदका सबै समिति बहिष्कार गर्ने निर्णय गरेको थियो । एमाओवादीले सभाध्यक्ष सुवास नेम्वाङले गत माघ ११ मा जवरजस्ती प्रस्ताव निर्माण समिति गठन गरेपछि सभाध्यक्षलाई असहयोग गर्न भन्दै समितिका बैठक बहिष्कार गरेको हो । एमालेका प्रकास ज्वाला सभापति रहेको अर्थ समितिमा एमाओवादीका शक्ति बस्नेसहित पाँच सभासदहरु सदस्य छन् ।

सभापति ज्वालाले पनि एमाओवादीले संसद तथा संविधानसभाको समितिहरु बहिष्कार गर्नु दुखद भएको बताए । ‘एमाओवादीले समितिका बैठक बहिष्कार गर्नु दुखद निर्णय हो । ’ ज्वालाले भने ‘ निर्णय सच्चाएर आगामी बैठकमा आउनु आग्रह गर्छु । ’

बैठकमा पुराना सवारी साधन व्यवस्थापन सम्बन्धमा छलफल गर्न मुख्य सचिव लिलामणि पौडेल सहरी विकास मन्त्रालयका सचिव अर्जुन कुमार कार्कीको उपस्थिति थियो ।


  •  
  •  
  •