अभिनेत्री पूजा शर्मा भन्छिन्, ‘नेपाली चलचित्रको छुट्टै अस्तित्व छैन ?’

426
  •  
  •  
  •  

काठमाडौं । सरकारले लकडाउन अन्त्य गरेपनि सिनेमा हल लगायत केहि क्षेत्रमा भने प्रतिबन्ध कायमै रहेको छ ।

सिनेमा हल, शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, पुस्तकालय, संग्राहलयहरु, पार्टी प्यालेस, चिडिया खाना, धार्मिक स्थललगायत भीडभाड हुने क्षेत्र अनिश्चितकालसम्म बन्द रहने सरकारका प्रवक्ता अर्थ, संचार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिएका छन् ।

नेपाली फिल्मकर्मीहरु भने लकडाउनको अन्त्य भएपछि फिल्म क्षेत्र खुल्ने अपेक्षामा थिए । तर, सरकारले अनिश्चितकालसम्म फिल्म क्षेत्रमा प्रतिबन्ध लगाएपछि फिल्मकर्मीहरु निराश र आक्रोशित भएका छन् । कोरोना भाइरसबाट अतिप्रभावित क्षेत्रमा समेत नपरेको फिल्म क्षेत्र लकडाउनको अन्त्य हुँदा पनि नखुल्ने भएपछि यस क्षेत्रमा आश्रित हजारौंको भविष्य संकटमा परेको छ । लकडाउन भएदेखि फिल्म क्षेत्र पूर्ण रुपमा ठप्प छ । सयौं सिनेमा हल बन्द छन् ।

यसैबीच अभिनेत्री पूजा शर्माले लकडाउनको अन्त्य हुँदा पनि सरकार र फिल्म क्षेत्रका नेतृत्व वर्ग फिल्म क्षेत्र सुचारू गर्न अग्रसर नदेखिएकामा असन्तुष्टि व्यक्त गरेकी छन् ।

आफ्नो आधिकारिक फेसबुक पेजमा एक स्टाटस लेख्दै उनले भारतको फिल्म क्षेत्र खुलेपछि मात्र नेपालमा खोल्नु पर्ने हो भन्दै प्रश्न समेत गरेकी छन् । छलफल र बहसबाट सरकारलाई दबाब दिन उनको आग्रह छ ।

उनले लेखेकी छन्, ‘के हामी नेपाली चलचित्रको छुट्टै अस्तित्व छैन ? नेपाली चलचित्रले के हामी चलायमान हुन सक्दैन यो गम्भीर प्रश्न हो । आऔं, छलफल बहस गरौं, सरकारलाई दबाब दिऔं र कोरोना कहरबाट सुरक्षित रहने व्यवस्थासहित चलचित्र क्षेत्रलाई चलायमान बनाऔं ।’

 


  •  
  •  
  •