विश्वकप फुटबलको महासंग्राम आजदेखि सुरु

85
  •  
  •  
  •  

काठमाडौँ, ३१ जेठ (ओएनएस) : फुटबलको महासंग्राम विश्वकप आजबाट रुसमा सुरु हुँदैछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१औं संस्करण मस्कोको लुझनिकी रंगशालामा बिहीबार राती औपचारिक उद्घाटनसँगै सुरु हुनेछ।

राजधानी मस्कोको लुझनिकी स्टेडियममा विश्वकप फुटबलको भव्य उदघाटन समारोह हुनेछ । ८० हजार दर्शक क्षमता भएको यो स्टेडियममा ५०० कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् ।

इङ्गल्याण्डका पपस्टार राबी विलियम्स र स्पेनका ओपेरा गायक प्लासिडो डोमिगो आकर्षणको केन्द्र हुने छ । यसको अलावा जुआउन डिएगो फ्लोरेज र गरीफुल्ल्निाले पनि आफ्नो प्रस्तुती दिनेछन् ।

रुसमा पहिलो पटक हुन लागेको यो विश्वकपमा पनि विगतमा झैं विश्वका उत्कृष्ट ३२ देशले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।पाँचपटक विश्वकप जितिसकेको ब्राजिलसँगै साबिक विजेता जर्मनी, दक्षिण अमेरिकी महारथी अर्जेन्टिना र पूर्वविजेताहरु फ्रान्स तथा स्पेनलाई उपाधिको प्रमुख दाबेदार मानिएको यस प्रतियोगिताले आगामी चार वर्षका लागि नयाँ विश्व विजेता चयन गर्दै एक महिनापछि मस्कोको लुझनिकी रंगशालाबाटै बिदा लिनेछ।

स्टेडियमको सुरक्षाका लागि ३० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । कुनै विपत आइपरेमा लडाकु विमानहरुलाई पनि तयारी अवस्थामा राखिएको छ ।उदघाटन समारोहमा ब्राजिलियन फुटबलर पेले स्वास्थ्यका कारण उपस्थित हुन नसक्ने भएका छन् तर रोनाल्डोलाई भने देख्न सकिने छ ।

विश्वकपको पहिलो म्याच आयोजक रुस र साउदी अरबबीच हुनेछ । यो खेल नेपाली समयअनुसार बेलुका ८ः४५ मा सुरु हुनेछ । आइसल्याण्ड र पनामाले रुस विश्वकपबाट डेब्यू गर्दैछन् । रुस विश्वकपबाट पहिलोपटक भिडियो रेफरल प्रणाली प्रयोगमा ल्याइँदैछ ।


  •  
  •  
  •