काठमाडौं, २१ पुस (ओएनएस) : संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले नया संविधानमा महिलाका अधिकार सुनिश्चितताका लागि आ–आफ्ना पार्टी नेतृत्वको ध्यानाकर्षण गर्न अन्तरपार्टी महिला सञ्जाललाई आग्रह गरेका छन् ।
सोमबार सभापति भट्टराईको कार्यकक्ष, सिंहदरबारमा अन्तरपार्टी महिला सञ्जालको ध्यानाकर्षण पत्र ग्रहण गर्दै सभापति भट्टराईले नया“ संविधानमा महिलाका हक–अधिकार सुनिश्चित गर्न एमाओवादीमा कुनै समस्या नरहेको तर खासगरी कांग्रेस र एमालेमा केही समस्या रहेको बताए ।
सभापति भट्टराईले आमा र बाबु नेपाली बंशज भए मात्रै बंशजका आधारमा नागरिकता पाउने व्यवस्थासहितको प्रतिवेदन मस्यौदा समितिमा जानु ठूलो भूल भएको बताउदै आगामी दिनमा संविधानसभामा छलफल हुदा आमा वा बाबु बनाउनका लागि संशोधन प्रस्ताव दर्ता गर्न पनि आग्रह गरे ।
त्यसैगरी नेपालीले विवाह गरी ल्याइएका विदेशी नागरिकलाई नेपाली अंगीकृत नागरिकता दिने सन्दर्भमा पनि असमान व्यवस्था रहन गएकोमा त्यसलाई पनि समान बनाउनु आवश्यक रहेको सभापति भट्टराईले बताए ।
सञ्जालकी अध्यक्ष मीना पाण्डेको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले सभापति भट्टराईलाई बुझाएको ध्यानाकर्षण पत्रमा नया संविधानमा राज्यका संयन्त्रका सम्पूर्ण क्षेत्र र राजनीतिक दलहरुमा जनसंख्याका आधारमा महिलाको समानुपातिक समावेशी सहभागिता सुनिश्चित हुनुपर्ने, केन्द्रीय तथा प्रान्तीय व्यवस्थापिका तथा सरकारमा प्रमुख पदसहित जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चितताका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अबलम्बन गर्न, आमा वा बाबु नेपाली बंशज नागरिक भएमा बंशजका आधारमा नागरिकता पाउने व्यवस्था गर्न, संविधानमा नागरिकताको हक लिपिवद्ध गर्दा महिला र पुरुषको बीचमा समानता कायम गर्न माग गरिएको छ ।
त्यसैगरी राष्ट्रपति÷उपराष्ट्रपति, प्रधानमन्त्री÷उपप्रधानमन्त्री, सभामुख÷उपसभामुख लगायतका पदमा कार्यकालको हिसाबले महिला र पुरुष पालो–पालो हुने व्यवस्था गर्नुका साथै प्रमुख पदमा फरक लिङ्गको व्यक्ति हुने व्यवस्था गर्न, नेपाल पक्ष भएका महिलासम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, सन्धि र अभिसन्धिहरु, नेपालको संविधान र कानुनहरुको कार्यान्वयन सम्बन्धमा अनुगमन गर्न र राज्यलाई निर्देशसमेत गर्नका लागि संविधानमा लोकपालको व्यवस्था गर्न पनि माग गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझाउन आएको प्रतिनिधिमण्डलमा सञ्जालकी अध्यक्ष मीना पाण्डे, उपाध्यक्ष जनककुमारी चालिसे, महासचिव सावित्रा भुषाल, सचिव नीलम वर्मा, कोषाध्यक्ष लक्ष्मी साह, स्टेरिङ्ग कमिटी सदस्य शशी श्रेष्ठ, सदस्यहरु कल्याणी रिजाल, ममता गिरी, कल्पना धमला, बसन्ती झा लगायतको सहभागिता थियो ।