प्रक्रिया अघि बढाइए गच्छदार मोर्चा संविधान निर्माणबाट बाहिरिने

235
  •  
  •  
  •  

bijayaकाठमाडौ, १८ भदौ(ओएनएस) : विजयकुमार गच्छदारले नेतृत्व गरेको संघीय लोकतान्त्रीक मोर्चाले संविधान निर्माण प्रक्रिया नरोकिए संविधान निर्माणको प्रकृयाबाट बाहिरिने निर्णय गरेको छ ।

मोर्चाको शुक्रबार बसेको बैठकले थारूलगायतका मागलाई राजनीतिक रूपमा समाधान गर्नुपर्ने निष्कर्ष निकाल्दै समस्या समाधान नगरी संविधान निर्माण प्रक्रियामा अगाडि बढे आफूहरू बाहिरिने निर्णय गरेको हो । मोर्चाको बैठकले संविधानसभामा संशोधन विधेयक प्रस्तुत गर्ने भदौ १९ गतेको म्यादलाई केही दिन थप गर्नु पर्ने माग समेत गरेको छ ।

मोर्चाले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘यदि ठूला तीन दलहरु निर्धारित भदौ १९ को म्याद भित्र समाधान पनि ननिकाल्ने र म्याद पनि नथप्ने तथा यथास्थितिमै मस्यौदा संविधानलाई संविधासभाभित्र प्रकृयामा अघि बढाइए । त्यही बिन्दुबाट मोर्चाले संविधान निर्माणको प्रकृयाबाट अलग हुने निर्णय गरेको छ ।’

‘सरकार र आन्दोलनकारीहरुसित गरिने वार्ता भदौ १९ गतेसम्म निष्कर्षमा पुग्न नसके संविधानसभामा संशोधन विधेयक प्रस्तुत गर्ने भदौ १९ गतेको म्यादलाई केही दिन थप गरि समस्याको यथाशीघ्र उपयुक्त राजनीतिक समाधान निकाल्नु पर्ने कुरामा जोड दिइएको छ,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

तराई मधेसमा जातीय, क्षेत्रीय समूहले आन्दोलन चर्काइरहँदा फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारको नेतृत्वमा राष्ट्रिय मधेस समाजवादी पार्टी र फोरम गणतान्त्रिक मिलेर मोर्चा बनाएका थिए ।


  •  
  •  
  •