स्वेच्छिक अवकाशः तीन सचिवसहित १० हजारको निवेदन

विवरण संकलनको अवधि सकियो
283
  •  
  •  
  •  

काठमाडौं, २ चैत (ओएनएस) : सरकारले ल्याएको निजामतीसहित संसद् र स्वास्थ्य सेवाका कर्मचारीलाई स्वेच्छिक अवकाशको योजनाका लागि तीन सचिवसहित १० हजार कर्मचारीले निवेदन दिएका छन्।

स्वेच्छिक अवकाशका लागि भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव शम्भु कोइराला तथा संघीय संसद् सचिवालयका सचिवद्वय हिमनाथ सुवेदी र वीरेन्द्र कार्कीसहित ९ हजार ६ सय ५६ निवेदन दिएका हुन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वेच्छिक अवकाश इकाइ शाखाका प्रमुख धर्मराज रोकायाका अनुसार स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीको विवरण संकलन सकिएको छ।

गत फागुन १३ गतेदेखि अवकाश दिनका लागि निवेदन दिएका कर्मचारीको विवरण संकलन सकिएको उनले बताए।

संकलित विवरणलाई अहिले पहिलेको सक्कल विवरणसँग रुजु गर्ने कार्य भइरहेको जानकारी दिँदै रोकायाले विवरणलाई रुजु गर्न करिब तीन महिना लाग्ने बताए।

सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजनमा जान नचाहने कर्मचारीलाई गत पुस २९ देखि फागुन १३ गतेसम्म स्वेच्छिक अवकाशका लागि निवेदन दिन आग्रह गरेको थियो ।

सरकारले निजामतीसहित संसद् र स्वास्थ्य सेवाका कर्मचारीलाई स्वेच्छिक अवकाशको योजना ल्याएको हो । मन्त्रालयले ५० वर्ष उमेर पुगेका र बीसवर्षे सेवाअवधि पूरा गरी निवृत्तिभरण पाउने अवस्थामा रहेका कर्मचारीले अवकाश लिन पाउने व्यवस्था गरेको थियो ।


  •  
  •  
  •