जहाँ इच्छा त्यहाँ उपाय, राजधानीका घरका कौशी तरकारी खेति

413
  •  
  •  
  •  

काठमाडौं, २१ वैशाख (ओएनएस) : ‘जहाँ इच्छा त्यहाँ उपाय’ । उत्कट चाहना भएपछि हेर्दा असम्भव लाग्ने कुरा पनि सम्भव हुँदा रहेछन् । तरकारी फलाउन जमिन नभएर के भयो र ? घरको कौशी नै काफी भएपछि ।
काठमाडौंको कालीकास्थानमा बस्ने पवन आलोक (साहित्यकार) र रेखा कँडेलको पर्याप्त जमिन छैन । तर उनले आफ्नो घरमा ‘रुफ टप गार्डेन’ बनाएकी छिन् । सात सय स्क्वायर फिटको कौशीमा बनाइएको गार्डेनमा जुनार, कागती, खुर्सानी, गोलभेडा, फूल, करेला, घ्यूकुमारी, तितेपाती, वन–पिपल, अम्वा, आँप, अनार, निगालो, लसुन, साँग, सिमी, सुन्तला, उखु आदि रोपिएको छ ।
जुनारको त फल नै लागेको छ ।  कागती पनि बोटमा लटरम्म छन् । अकवरे खुर्सानीले बोटै ढाकेको छ । कौशीकै खेतिले राम्रो उत्पादन दिएपछि रेखालाई अन्यत्र गएर तरकारी किन्नु परेको छैन । बरु उनले छिमेकी र आफन्तलाई बेलाबेलामा बाँड्ने गरेकी छिन् ।
राजधानीमै उदाहरणीय काम गरेकी उनलाई भेट्न यसैसाता प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटासहितको टोली पुग्यो । गमला, चामलको बोरा, आटाको बोरा, फालिएका टिनका बट्टा सबैको प्रयोग गरेर तयार गरिएको करेसा बारीमा चारैतिर फूल फूलेको देख्दा सचिव बाँस्कोटा दङ्ग परे । सोही मेसोमा रेखाले बाँस्कोटालाई भनिन्, ‘जमिन नभएर के भो त ? सबै तरकारी यहिँ फलाएकै छु । धेरै जनाले मलाई सोध्ने पनि गर्दछन् ।’
ललितपुरका दिलीप श्रेष्ठ शेयरबजार लगानीकर्ता हुन् । यद्यपि उनले घरको कौशीमा तरकारी, दुवो, लसुन, प्याज, लट्टेको साग, गोलभेडा, तनेवोडी, भिण्डी, छ्यापी, घ्यू सीमी, काँक्रो, गाजर, खुर्सानी, अंगुर, फर्सी, धनिया, जिम्वू, पुदिना, भण्टा, लौका, अम्बा फलाएका छन् । किवीको वोट, कागतीका रुख र विरुवाहरु हरियो भएर हुर्किएका छन् । त्यहाँ पनि बाँस्कोटा पुगेर अवलोकन गर्दा चकित भए ।
घरमै बसीबसी तरकारी र विभिन्न विरुवाहरु उमार्न सकिने सन्देश दिन पछिल्लो समय सरकारीस्तरबाटै सहयोग भएको छ । अनुगमनमा गएकमा काठमाडौं महानगरपालिकाका प्रतिनिधि लक्ष्मण अर्यालले ‘रुफ टफ गार्डेन’का लागि ६५० जनालाई तालीम दिइसकेको जानकारी दिए । यसवर्ष थप ५०० जनालाई तालीम दिने उनको भनाई थियो ।
फुर्सदको समयको उपयोगबाट हरियो तरकारी र फलफूलमा आत्मनिर्भर हुन यस्तो क्रियाकलापले सघाउ पुर्याउँछ । भान्छावाट निस्किएका फोहोर र पानीबाटै यस्तो करेसावारी संचालन गर्न सकिने भएकोले ‘रुफ टप गार्डेन’को अवधारणालाई राज्यकै नीतिमा समावेश गर्नु पर्ने धारणा छ सचिव बाँस्कोटाको । 935328d37fd051ead3345e927ac15abd

  •  
  •  
  •