यस्तो छ कृषि गणनाको नतिजा

1608
  •  
  •  
  •  

 

काठमाडौं, ४ असार (ओएनएस) : केन्द्रीय तथ्याङ्क विभागले २०६८ सालमा गरेको राष्ट्रिय कृषि गणनाको नतिजा सिन्धुपाल्चोकको चौतारामा मंगलबार सार्वजनिक गरिएको छ । केन्द्रीय तथ्याङ्क विभाग आयोजक रहेको सार्वजनिकीकरण गोष्ठीमा तथ्याङ्क कार्यालय काभ्रेद्वारा उक्त नतिजा प्रकाशित गरेको हो । छैठौं राष्ट्रिय कृषि गणना–२०६८ अनुसार ७५ जिल्लामा सञ्चालन गरिएको थियो । दुई चरणमा सञ्चालित गणनाअन्तर्गत प्रथम चरणमा कुल पाँच हजार २०० वडा छनोट गरिएका थिए । दोस्रो चरणमा एक लाख २४ हजार ४०० कृषक परिवार छनोट गरिएको थियो ।

केन्द्रीय तथ्याङ्क विभागका निर्देशक जयकुमार शर्माद्वारा प्रस्तुत तथ्याङ्कअनुसार नेपालमा हालको जम्मा कृषि भोगचलन सङ्ख्या ३८ लाख ३१ हजार ९३ रहेको र त्यसको क्षेत्रफल २५ लाख २५ हजार ६३९.२ हेक्टर रहेको छ । त्यसमा सबैभन्दा धेरै मोरङ र सबैभन्दा कम मनाङ जिल्ला रहेको छ ।

त्यसैगरी नेपालमा कृषि भोगचलनमा सरदर कित्ता सङ्ख्या ३.२ रहेको छ । त्यसमा सबैभन्दा धेरै जुम्लामा ९.३४ तथा सबैभन्दा कम झापामा १.६२ प्रतिशत रहेको छ । जतिसुकै कित्ता भएपनि एकै प्लटमा खेती लगाइएको छ भने त्यसलाई एकै कित्ता कायम गरी गणना गरिएको निर्देशक शर्माले स्पष्ट पार्नुभयो ।

जसअनुसार नेपालमा कित्ताको सरदर क्षेत्रफल ०.२१ हेक्टर रहेकामा त्यसमा सबैभन्दा धेरै झापामा ०.५३ हेक्टर रहेको र सबैभन्दा कम जुम्लामा ०.०४ हेक्टर रहेको छ ।


  •  
  •  
  •