किसानका मोबाइलमा विषादी चेतना

91
  •  
  •  
  •  

काठमाडौं २९ भदौ ।
नेपा-काभ्रे पाँचखालका किसान ज्ञानबहादुर थापाको मोबाइलमा एकदिन अचानक अनौठो नम्बरबाट एसएमएस आयो। झटपट इन्बक्स थिचे, एसएमएसकर्ता कोही चिनेजानेका साथी, परिवारका सदस्य वा आफन्त थिएनन्। उनी थिए– प्रमुख जिल्ला अधिकारी

थापाले तत्काल अचम्म मान्दै एसएमएस पढे।
त्यसमा लेखिएको थियो– ‘नचाहिएसम्म विषादी प्रयोग नगरौं। गर्नैपरे प्राविधिक सल्लाहमा सुरक्षित विषादी मात्रै प्रयोग गरौं’  मोबाइल फोनमा यस्तो काम लाग्ने सन्देश आएको देख्दा उनी निकै खुसी भए। ज्ञानबहादुरको मोबाइलमा मात्र होइन, अचेल काभ्रे पाँचखालका ३ सय किसानका मोबाइलमा विषादी चेतनासम्बन्धी यस्ता सन्देश आइरहन्छन्।
किसान पनि खेतबारीमा काम गर्दागर्दै मोबाइल थिचेर विषादीसम्बन्धी ज्ञान बटुलिहाल्छन्। तरकारी खेतीमा देशमै कहलिएको पाँचखाल अहिले विषादी प्रयोगमा ‘हटस्पट’ का रुपमा चिनिएको छ। पाँचखालको यो खराब परिचय मेटाउन अहिले सबै पक्ष जुटिरहेका छन्। यही क्रममा काभ्रे प्रशासनले सन्देश प्रवाह गरिरहेको छ, किसानलाई विषादी चेतनाका एसएमएस।

दुई वर्षअघि छिमेकी जिल्ला सिन्धुलीमा सुरु एसएमएसमार्फत कृषि सूचना प्रवाह कार्यक्रम प्रभावकारी देखिएको थियो। केही महिनाअघि पाँचखालको तरकारीमा बढी विषादी रहेको, यहाँका किसान र उपभोक्तामा समेत विषादी प्रयोगले अनेक रोग देखिएको लगायत सार्वजनिक भएका थिए। सरकारले काभ्रेका तरकारी राजधानी भित्रनै नदिने गरी केही दिन रोकसमेत लगाएको थियो। पछिल्ला दिनमा भने किसानमा विषादी चेतना बढ्दै गएको सूचना
सार्वजनिक भएका छन्।

काभ्रेको तरकारी उत्पादन भण्डार, पाँचखालमाआइटी इन्जिनियरहरूको समूह ‘क्रियटिङ स्माइल्स–बिल्डिङ द नेसन’ ले कृषिमा सूचना प्रविधिअन्तर्गत एसएमएस सेवा सुरु गरेको हो। यसलाई मोबाइल एपमा समेत उपलब्ध गराइएको छ।
यही प्रविधि उपयोग गर्दै संस्थाले पाँचखालका किसानलाई प्रथम चरणमा कृषिका विभिन्न सन्देशमूलक एसएमएस मोबाइलमा पठाउन थालेको हो। तरकारीको बजारमूल्य वा कुनै पनि खेतीबालीका लागि आवश्यक सम्पूर्ण जानकारी मोबाइलमै आउने भएपछि पाँचखालका ३ सय कृषकले नाम दर्ता गराएका छन्।
काभ्रेका प्रजिअ केदार न्यौपानेले कार्यक्रमको सुरुआत गर्दै पाँचखाललाई विषादीको ‘हटस्पट’ बाट मुक्त गराउन कार्यक्रम सहयोगी हुने विचार व्यक्त गरे।

‘यो प्रणालीमा आबद्ध किसानले रोगप्रतिरोधका लागि प्रयोग गर्नुपर्ने विषादी, उत्पादन क्षेत्रको मौसम र बजारभाउका विषयमा तत्काल जानकारी पाउँछन्,’ न्यौपानेले भने।
यसमा बनेपा, मन्थली, खुर्कोट, सिन्धुली र काठमाडौंको कृषि बजारमा किसानले पाउने मूल्य हेर्न मिल्ने व्यवस्था छ। यिनमा धान, गहुँ, मकैजस्ता अन्नबालीसहित ३० प्रकारका अन्य कृषि–उपजको भाउ थाहा पाउन सकिने क्रियटिङ स्माइल्सका अध्यक्ष सिञ्जन चौलागाईंको भनाइ छ। ‘कृषकले सुरुमा एकपटक दर्ता भएर म्यासेज गरेपछि खेतीको सुरुदेखि बजारमा पुर्यामउने बेलासम्मको जानकारी पटक–पटक निःशुल्क पाउन सक्छन्,’ चौलागाईंले भने।
स्थानीय बजारमा कृषि–उत्पादन किन्ने व्यापारी सीमित रहेकाले वरिपरि बजार खोज्न एसएमएस र मोबाइल एपमै व्यवस्था मिलाइएको पनि चौलागाईंले बताए।

सुरुमा बिचौलियाबाट जोगाउन कृषि–उपजको बजारभाउ जानकारी गराउने उद्देश्यले विकास भएको एसएमएस प्रणालीमा पछिल्लो समय मौसमको जानकारीसमेत दिन थालिएको छ। ‘किसानले आगामी १५ दिनसम्म मौसमबारे जानकारी लिन सक्नेछन्। यसबाट उनीहरुलाई बाली लगाउन र टिप्न मद्दत पुग्छ,’ प्रणालीका विकासकर्ता इन्जिनियर अविनाश झाले जानकारी दिए।

यसैबीच, काभ्रेमा तरकारी बिउ उत्पादनका लागि १० वर्षदेखि सहयोग गर्दै आएको संस्था सिप्रेडले पनि तीन गाविसमा सञ्चालित ‘क्लाइमेट स्मार्ट भिलेज’ परियोजनाले समेट्ने किसानलाई सूचनाप्रविधिको प्रयोगबाट सघाउने भएको छ।
‘इसिमोडसँगको सहकार्यमा काभ्रेका नयाँगाउँ देउपुर, महादेवस्थान र पात्लेखेतमा प्रविधि विस्तार गर्दै छौं’, परियोजना संयोजक अर्जुन खनालले भने। नागरिकबाट


  •  
  •  
  •