किसानले अझै पाएनन पैसा

258
  •  
  •  
  •  

विराटनगर, २५ चैत(ओएनएस) : धान गहुँको तुलनामा राम्रो आम्दानी हुने आशले उखु खेती गरेका कृषकहरु समयमा नै उखु बेचेको पैसा नपाउँदा निरास हुन थालेका छन् । दुःखले उब्जाएको उखु किनेको मालिकले समयमा नै पैसा नदिँदा किसानहरु निरास भएका हुन् ।

महिनौ बित्दा पनि उखु खरिद गरेको इष्टन सुगर मिलले पुरा पैसा नदिएको कृषकहरुले बताएका छन् । ‘यस बर्षको उखु मिल गैसक्यो ।’, सिसवनी जहदाका कृषक जयप्रकाश सिंहले भने, ‘अघिल्लो सालको पैसापनि मिलले दिएको छैन ।’

किस्ता बन्दीमा उखुको पैसा दिने बताएपनि अझै पुरा पैसा नदिएको उनको गुनासो छ । तीन किस्तामा पैसा दिने सहमति जनाएको मिलले अझै तेस्रो किस्ताको पैसा नदिएको उनले बताए ।

ऋण काडेर उखु खेती गर्नु पर्ने अवस्था रहेपनि मिलले समयमा नै भुक्तानी नगर्दा कृषकहरु निरास भएको उनको गुनासो छ । ‘व्याजमा पैसा खोजेर उखु तयार गर्नु पर्छ । तर, मिलले एक बर्षसम्म पैसा झुलाउँछ ।’, उनले भने ।

मिलले समयमा नै उखुको पैसा नदिँदा गरगहना राखेर उखु काट्नु परेको उखु कृषक पाण्डप मण्डलले बताए । उनले भने, ‘मैले तीन बिगाहमा उखु लगाएको थिए । तर, अझै पुरा पैसा पाएको छैन ।’ उनले मिलबाट करिब दुईलाख रुपैया लिन बाकी रहेको बताए । पहिलो र दोस्रो किस्ताको पैसा पाएपनि तेस्रो किस्ताको पैसा नपाएको उनको गुनासो छ ।

मिलले पैसा नदिदा ऋण काटेर उखु उठाउनु पर्ने बाध्यता रहेको उनले बताए । कृषकले गतबर्ष प्रति क्वीन्टल ४ सय ६१ रुपैयाका दरले उखु बिक्री गरेका थिए । तीन किस्तामा भुक्तानी गर्ने प्रतिबद्धता जनाएको मिलले दुई किस्ता दिएपछि अझै तेस्रो किस्ता नदिएको कृषकहरुले गुनासो गरेका छन् । गत कात्तिक किस्ता दिएको मिलले फागुनामा चुक्ता गर्ने आश्वासन दिएपनि अझै अन्तिम किस्ता नदिएको उखु कृषक असोक राजभरले गुनासो गरे । उनले भने, ‘यो वर्षको उखु पठाइसके तर अझै अघिल्लो सालको दिएको छैन् ।’

मिलले पाउने पैसा रोकिदिँदा ऋण लिएर उखु उठाउनु परेको उनले गुनासो गरे ।

पहिले समयमा नै पैसा दिने मिलले तीनबर्षयता उखुको पैसा दिने बेलामा झुलाउने गरेको कृषकहरुको गुनासो छ । पटक पटक आग्रह गर्दापनि पैसा नदिँदा आफूहरू दोहोरोमारमा परेको कृषक सिंहले बताए । उनले भने, ‘एकतातिर मिलले समयमा पैसा दिदैन । अर्कोतिर ऋणको व्याज बढिरहेको छ ।’

यता इस्टन सुगर मिलका साहयक उखुप्रवन्धक धरमचन्द्र सिंहले सरकारले उखुको मुल्य तोक्न ढिला गरेका कारण किस्ता समयमा नै पेमेन्ट गर्न नसकिएको बताए । गत वर्षको पैसा चैत भित्र किसानलाई बाढी सक्ने उनको भनाई छ ।

गतवर्ष कृषकले प्रति क्वीन्टल ४ सय ६१ रुपैयाँ निर्धारण गरिएको थियो भने यसवर्ष ४ सय ४८ रुपैयाँ निर्धारण गरिएको छ । जसमा प्रतिक्वीन्टल सरकारले २५ रुपैयाँ किसानलाई थप गर्ने बताइएको छ ।


  •  
  •  
  •