पोखरा २५ सार (ओएनएस) : स्नातकोत्तर पढेको मान्छे कुखुरा पालेर बसेको छ भन्दा कतिले क्षमता नभएको पनि भन्न सक्लान्, नेपालको सन्दर्भमा। तर लेखनाथका राजेन्द्र अधिकारी ९४७०ले विज्ञानमा स्नातकोत्तर गरेका छन्।
उनले कतै जागिर नपाएर कुखुरा पालेका पनि होइनन्। बरु यसैले राम्रो आम्दानी दिएपछि जागिर खानैपर्छ भन्ने ठान्दैनन्। त्यसैले कुखुरापालनमै रमाएको उनले बताए।
लेखनाथ–७, शान्तिटोल पुग्दा अधिकारीको घर वरिपरि कुखुराको आवाज र सुलीको गन्ध प्रस्ट थाहा पाइन्छ। घर वरिपरि स–साना खोर बनाएर उनले कुखुरा पालेका छन्।
१२ वर्षदेखि कुखुरा पाल्न थालेका उनका खोरमा अहिले २५ प्रजातिका करिब १५ हजार पक्षी छन्। अधिकारीले कुखुरा पाल्ने मात्र होइन, चल्ला उत्पादन गरेर बेच्ने पनि गर्छन्। लेखनाथ र तनहुँ दुलेगौंडामा उनका खोर छन्।
त्रिभुवन विश्वविद्यालयबाट २०४८ मा विज्ञान संकायमा स्नातकोत्तर सकेका अधिकारी स्वदेशमै रमाउन यो क्षेत्रमा लागेको बताउँछन्। विभिन्न गैरसरकारी संस्थामा काम गरिसकेका अनुभवी अधिकारी जागिर नपाएकै कारण कुखुरा पाल्न थालेको नभई स्वदेशमै केही गर्नुपर्छ भनेर लागेको बताउँछन्।
‘म यसमै सन्तुष्ट छु। यसले मलाई काम र दाम दुवै दिएको छ,’ अधिकारीले बिहीबार भने, ‘कमाउन विदेशै जानुपर्छ भन्ने छैन। धैर्य, क्षमता र आँट भए जस्तोसुकै काम गरेर पनि कमाउन सकिन्छ।’ नागरिक दैनिकबाट