हत्या आरोपमा छोराबुहारीसहित पाँच जना पक्राउ

76
  •  
  •  
  •  

लमजुङ,१६ असोज (ओएनएस): लमजुङको भोटेओडार–४ पिप्लेमा मंगलबार राती भएको चार जनाको हत्यामा संलग्न भएको आरोपमा पाँच जनालाई प्रहरीले पक्रेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले हत्यामा परिवारकै सदस्यको संलग्नता रहेको देखिएको छ । प्रहरीले हत्या गरिएका अर्जुनप्रसाद रेग्मीका छोराबुहारीसहित ५ जनालाई पक्रेको हो । प्रहरीले अर्जुनका जेठा छोरा राममणि रेग्मी र बुहारीसहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । घटनास्थलमा परिचालन गरिएका कुकुरले राममणिको घरमा देखाएपछि उनीसहित राममणीकी श्रीमती र उनीहरुका नजिकका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राममणि नेपाली सेनाको हनुमान ध्वज गुल्म महेन्द्रनगरमा कार्यरत सिपाही हुन् ।

पक्राउ गरिएका ३ जनालाई जिल्ला प्रहरी कार्यालय र २ जनालाई इलाका प्रहरी कार्यालय भोटेओडारमा राखिएको छ । अनुसन्धानमा बाधा पुग्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएका अन्यको नाम भने सार्वजनिक गरेको छैन । राममणिसँगै उनका केही साथीहरुले मंगलबार साँझ रक्सी पिएर हत्याको योजना बनाएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । मृतकहरुको शव पोष्टमार्टमका लागि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ । शवको बिहीबार पोष्टमार्टम गरिने भएको छ ।

भोटेओडार–४ पिप्लेका ६० वर्षका अर्जुनप्रसाद रेग्मी, १४ वर्षकी छोरी ज्योति रेग्मी, अर्जुनप्रसादकी धर्मछोरी ३५ वर्षकी रीना घिमिरे र रीनाका १२ वर्षका छोरा विकास घिमिरेको मंगलबार राती हत्या भएको थियो ।


  •  
  •  
  •