फाल्गुनन्द गोल्डकप : आयोजक फिदिम सेमिफाइनल प्रवेश

218
  •  
  •  
  •  

Falgunanda Goldcupपाँचथर, १९ पुस (अाेएनएस) : फिदिममा जारी आठौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लब विजयी भएको छ । विजयसँगै फिदिम सेमिफाइनल प्रवेश गरेको छ ।

फिदिम माविको खेल मैदानमा भएको खेलमा फिदिमले पाहुना टोली फ्यान्स क्लब विआसी भुटानलाई २–० ले पराजित गर्यो । फिदिमका लागि दुवै गोल जर्सी नम्बर ६ का शरण बस्नेतले गरे । उनले दोस्राे हाफको १९ औँ र ३९ औँ मिनेटमा गोल गरेका थिए ।

फिदिमले पाएका गोल गर्ने दुई अवसर गुमाउँदा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दाेस्राे हाफमा फिदिम लयमा फर्कियो र सेमिफाइनल यात्रा तय गर्यो ।

प्रतियोगितामा फिदिम हिम कस्तुरी क्लब सिराहालाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको थियो भने भुटान बाई पाएर क्वाटरफाइनल पुगेको थियो । प्रतियोगिता अन्तर्गत बुधवार अन्तिम क्वाटरफाइनलमा कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ र चर्च व्वाईज क्लब काठमाण्डौँबीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका सचिव चन्द्रप्रकाश सुनुवारले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत बिहीबर पहिलो समिफाइनलमा मंगलबारको विजेता फिदिम र विर्ता युनाइटेड क्लब झापावीच तथा शुक्रवार हुने दोस्राे सेमिफाइनलमा एलेभेन एरोज सुनसरी र वुधवार हुने खेलको विजेतावीच प्रतिस्पर्धा हुनेछ ।

१६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको स्मृतिमा फिदिम स्पोर्टिङ क्लबद्वारा आयोजित प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल आगामी आइतबार हुने आयोजकले जनाएको छ ।


  •  
  •  
  •