यसरी आएको थियो फागुन ७

363
  •  
  •  
  •  

ramhari joshiकाठमाडौ, ७ फागुन(ओएनएस) :  सातसाल अघि नेपाली कांग्रेसले संचालन गरेको सशस्त्र आन्दोलनका योद्धा अहिले एकजना मात्र बाँकी छन् । उनीहुन् नेपाली कांग्रेसको स्थापना देखि पार्टी रहेका रामहरि जोशी । उनले पार्टीको सदस्य लिएको नलिएको थाहा छैन । तर, पार्टीले संचालन गरेका गतिविधि र आन्दोलनका साथ फागुन ७ गते कसरी आएको थियो भन्ने एक एक थाहा छ । उनी भन्छन्, ‘राजा त्रिभुवन जिम्मेवार नहुँदा र तात्कालिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको मुट्ठीको माखा बनिदिदा नेपालमा प्रजातान्त्रिक व्यस्था फस्टाउन सकेन ।’ उनका अनुसार त्रिभूवन जिम्मेवार भएदिएको भए सातसालको असपासमै संविधानसभा (संविधान परिषद)बाट संविधान बन्थ्यो । रामहरि जोशीकै शब्दमा पढौ, कसरी आएको थियो त फागुन ७ ।

नेपाली राष्ट्रिय कांग्रेस बनारसमा स्थापना भएपछि गणेशमान जी र म कलकत्तामा बसेर काम गर्थ्यौ। हामी त्यहाँ काम गर्दैगर्दा सुवर्णजीले पनि पार्टी खोल्नुभएको रहेछ । उहाँहरूले सशस्त्र आन्दोलनको तयारी गर्नुभएको रहेछ । हामी चाही अहिंसावादी आन्दोलनको नीतिमा थियौं । पैसा नभएर हामी सार्है अप्ठेरोमा थियौं । उता शुवर्णजीहरू काम गर्ने भन्छे नभएर भएको पैसा पनि जतातै दुरुपयोग भइरहेको ।

त्यतिबेला नैं वीपीलाई विराटनरबाट पक्राउ गरेर पैदल मार्गबाट काठमाडौं ल्याइयो । वीपीले जेलबाट नैं श्रीमती सुशीलाका नाममा पत्र लेख्नुभएछ । त्यो पत्रमा उहाँले मिल्छ भने साथीहरुलाई पुर्याइदिनु, मिल्दैन भने च्यातेर फालिदिनु साथमा नराख्नु भन्नुभएको रहेछ । त्यही पत्रमा उहाँले आव्हान गर्नुभएको रहेछ राणाजीहरुलाई समाप्त पार्न चाहने कोही छ भने सहकार्य गर्न । त्यो पत्रमा वीपीले जसरी भएपनि राणाहरूलाई खत्तम पार्ने भनेर लेख्नुभएको रहेछ । जसरी भएपनि भन्ने शब्दमा विवाद भयो । गणेशमानजीले यसको विरोध गर्नुभयो । गिरिजाबाबुले पनि जे पनि भनेको त हतियारको बलमा पनि हुन्छ, त्यो त हाम्रो नीति होइन सान्दाजुले के लेखेको भनेर विरोध गर्नुभयो, अन्यले पनि विरोध गरे । तर त्यो पत्र दिल्लीको एक अंग्रेजी पत्रिकाले छापेपछि पढेर शुवर्णजी सहमत हुनुभएछ ।

३३ दिनसम्मको अनसनपछि वीपी जेलमुक्त भएर कलकत्ता पुग्नुभयो, त्यसपछि शुवर्णजीसँग भेट भयो, कुराकानीभयो । उहाँहरु कामगर्ने मान्छे नभएर समस्यामा हामेरू पैसा नभएर समस्या । दुवैलाई खोजेजस्तै भयो । वीपीसहितको बहस कलकत्तामै भयो, सशस्त्र क्रान्ति गर्ने नगर्ने बहसमा वीपीले सशस्त्र क्रान्ति गर्ने भन्ने तर्क राखेपछि राणालाई खत्तम पार्नसकिन्छ भने गर्ने भनेर सबैजना सहमत भए । त्यही नीति पारित भयो । त्यहीको टाइगर सिनेमा हलमा भएको सम्मेलनले पार्टी एकीकरण गर्यो । एकीकृत पार्टीका नाम नेपाली कांग्रेस राखियो ।

मलाई नेपालको अवस्था बुझ्न पठाइयो, मैले भुगोलपार्कमा आएर मिटिङ गरे । अनि फर्किए । भारतको २००६ साल भदौंमा बैरगनिया अधिवेशन भयो । मातृकाबाबुलाई पार्टी सभापति चनय गर्यो । उहाँलाई नैं सर्वोच्च कमाण्डर तोकियो, राणा विरुद्ध सशस्त्र क्रान्तिको रणनीति पारित भयो । मातृकाबाबुले भनेको कुरामा प्रश्न उठाउन नपाइने भयो । त्यहीबाट केआइसिंहले पार्टी छोडेर गए । कात्तिक देखि सशस्त्र क्रान्ति सुरू भयो । पूर्वतिर नारदमुनी थुलुङको नेतृत्वमा र वीरगञ्ज लगायतका ठाउँबाट मुक्ति सेनाले आक्रमण थाल्यो । राणाहरूले ब्रिटिसको सहयोग मागे तर इण्डिया स्वतन्त्र भइसकेकाले सहयोग गर्न नसक्ने कुरा ब्रिटिसहरूले बताएपछि राणाहरू दिल्ली गएर कुरा बुझ्न थाले ।

वीरगञ्जबाट आक्रमण थालियो । राणाका सेनाले दुइजनाको हत्या गरिदिए । त्यसपछि विराटनगर, भैरहवा लगायतका क्षेत्रबाट पनि आक्रमण सुरु गरियो । दुइमहिनापछि आधाजस्तो देश कब्जा भयो । त्यसको दुइमहिनापछि राजा त्रिभुवन भारतीय दुतावासको सरणमा गए । तीनदिन पछि दुतावासले दिल्ली लग्यो । भारतकै सुझावमा दिल्ली वार्ताका लागि बोलाइयो ।

वीपी दिल्ली पुगेर त्रिभुवनलाई भेटे तर त्यसपछि पुनः वार्ताका लागि भेट्न दिइएन । राजा र वीपीका बीचमा पुलको काम तात्कालित भारतीय राजदुत सीपीएन सिंहले गरे । वीपीले म राजासँग कुरा गर्छु तपाइलाई किन भन्ने भन्नुभयो तर सीपीएनले भेट्ने वातावरण छैन मलाई भन्नुस् भने ।

त्यतिबेला राजा हामीसँग पनि बोल्न चाहेनन् उनी त नेहरूको मुठ्ठीको माखा भइसकेका रहेछन् । राजा, राणा र कांग्रेसकाबीच वार्ता हुँदैछ भनेर प्रचार गरियो तर कांग्रेस वार्तामा सहभागी थिएन । भारतले कांग्रेसले वैधानिक राजनीतिक बाटोबाट सत्तामा जाने सुझाव दियो, तर उसले लिने कांग्रेसलाई असहयोग गर्ने र राजालाई कब्जा गर्ने भूमिका देखियो ।

[box type=”shadow” ]सात सालका प्रजातान्त्रिक योद्धा भन्छन्, फागुन सात राजा राणा र दिल्लीको धोकाधडीबाट आएको थियो, तर त्यसैले राणाको पतन गरायो ।

राजाले अधिकानायक बन्ने सपना पनि त्यही दिनबाट देख्न थालिहाले । सबैसँग एक साथ लड्न नसक्ने अवस्थाले भएर मात्र हो वीपीले त आठ साल पछि नैं भन्नुभएको थियो यस्तै अवस्था हुने हो भने राजा पनि किन चाहियो र ?

कांग्रेसले किन स्वीकार गर्यो त ?

माहात्मा गान्धीले भारत पाकिस्तान छुट्टाउने निर्णय स्वीकार्नु र वीपीले दिल्ली संझौता स्वीकार्नु उस्तै उस्तै बाध्यता थियो ।

टंकप्रसाद आचार्य मन्त्रीबन्न नपाएपछि नेपाल फर्केर कम्युष्टिहरुसँग मिलेर दिल्ली सम्झौता धोका हो भन्दै आन्दोलनमा उत्रिए ।

राजेन्द्र खरेल उसबेला नैं त्यो ठकुरी (राजा)लाई पनि सिध्याइदिउ भन्ने तर मैले यस्तो भन्न हुन्दैन, राजनीतिमा कोसँग कतिवेला मिल्नुपर्ने हुन्छ थाहा हुँदैन ।

त्यो भन्दा मलाई नराम्रो माने पछि वीपी राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्कदा छक्क परे ।

जयनारायण गिरी र म सँगसँगै काम गर्थ्यौ । सदस्यता लिएको नलिएको समेत मलाई याद छैन । तर, मैले मान्छे बोलाउने चिठ्ठी पुर्याउने लगायतका काम गर्थे । [/box]

मोहनशमसेरलाई प्रधानमन्त्री बनाएर १४ जनाको मन्त्रीमण्डल बनाउनेगरी सम्झौता गरिएछ । मोहन शमसेरले सबै राजनीतिक बन्दीलाई रिहा गर्ने र राजनीतिक दल खोल्न प्रतिबन्ध नलगाउने घोषणा गरे । राजाले पनि त्यसलाई समर्थन गरेर अर्को वक्तव्य निकाले । राजाको वक्तव्य काठमाडौंमा हेलिकप्टरबाट छरियो । कांग्रेसले जारी राखेको युद्ध विराम गरेको घोषणा गरियो । मातृकाले भारतमै एउटा रेडियोबाट वक्तब्य दिए । तर, त्यो वक्तब्य आएपछि पनि केआईं सिंहले भैरहवाको युद्ध रोकेनन् ।

मलाई फागुन २ गते एड्भान्स पार्टीको रूपमा काठमाडौं पठाइयो । म एयरपोर्ट उत्रिने बित्तिकै आर्मी हतियार लिएर आयो । कुन पदको थियो थाहा भएन । तर, उसले ‘यु आर अन्डर एरेष्ट’ भन्यो । मैले इण्डियन एम्बेसीबाट आएको भन्नु भन्ने आदेशका आधारमा इण्डिएन एम्बेसीबाट आएको बताएँ । त्यसपछि दुतावासको प्रतिनिधि पुगेर ७ गते आउने नेतालाई गेष्ट हाउसमा कहाँ कहाँ राख्ने भनेर आदेश दिन थाल्यो ।

वीपीले राजा ७ गते आउने भएकाले ६ गते नै आउने निर्णय गर्नुभयो । राजासँग जाँदा आफ्ना समर्थक देखाउन नमिल्ने भएर एक दिन अघि आउने निर्णय थियो । मैले यहाँ आएर खबर गरे । धेरै मन्छे मलाई लाग्छ ५०, ६० हजार मान्छे एयरपोर्ट पुगे । तर, प्लेन आएन । पछि थाहा भयो । बुझ्दा राजाभन्दा अघि किन पठाउने भनेर रोकिदिएछ ।

फागुन ७ गते राजा त्रिभुवन, वीपी छुट्टा छुट्टै प्लेनबाट आउनुभयो । त्यहाँबाट सिधै दरवार गए । मलाई जान मन लागेन म दरवार गइन । पछि थाहा भयो राणा र कांग्रेसलाई छुट्टाछुट्टै टेन्टमा बस्ने व्यवस्था गरिएको रहेछ । राणाहरु बस्ने ठाउँ भरिएपछि कांग्रेसको टेन्टमा राणाहरु आएर बसेछन्, कांग्रेसका नेताहरू उभिनमा परेछन् ।

त्यत्रो आन्दोलनबाट ल्याएको प्रजातन्त्र त औंचित्यहिन जस्तै भयो । राणालाई नै प्रधानमन्त्री बनाइयो, आन्दोलन गर्नेको मनोबल गिराइयो । वीपीले परिबन्धमा परेको भन्दै त्यसबाट भाग्न नसक्ने अवस्था रहेको पछि बताउनुभयो ।

मोहनशमसेरको गृहमन्त्री वीपी बन्नुभयो । दिल्लीमा सम्झौता हुँदा टंकप्रसाद आचार्य मन्त्री बन्छु भन्दै त्यहाँ पुगेका थिए । तर, वीपीले ढिला भएको र राजा नेहरूको कब्जामा रहेकाले केही गर्न नसक्ने जवाफ दिनुभयो । टंकप्रसाद ७ गते पछिका दिनमा कम्युनिष्टहरुसँग मिलेर ‘दिल्ली संझौता धोका हो, नेपाली कांग्रेस भारतीय दलाल हो’ भन्दै आन्दोलन थाले ।

त्यही मोहनशमसेरका भाइ भतिजाले खोलेको गोरखादलले नांगो खुकुरी देखाएर आन्दोलन थाले । वीपीलाई निवासमै आक्रमणको प्रयास भयो । वीपीले गोली हान्दा एकजनाको मृत्यु भयो । मोहन शमसेरले त्यो आन्दोलन नियन्त्रण गर्न नचाहेर आन्दोलनकारीलाई नैं सहयोग गरेछि वीपीले राजीनामा दिनुभयो । पछि मातृकाबाबुको नेतृत्वमा सरकार बनाइयो ।

वीपीलाई किन बनाइएन थाहा छ ? भारतले वीपी आक्रमक स्वभावको छ, मातृका भएमात्र हुन्छ भनेछ । त्यसपछी त्रिभुवनले मातृकालाई बनाएको रहेछ ।

राजाको कदम देखेर वीपीले हामीले राजाका लागि यत्रो आन्दोलन गर्यो तर राजा नै हामीलाई सिद्धयाउन लाग्छन् भने राजा चाँही किन चाँहीयो भन्नुभयो र जिल्लाजिल्लामा कार्यकर्तासम्म पुर्याउनुभयो । वीपीलाई पक्राउ गरियो । ठुलो आन्दोलन भयो, सर्वोच्का न्यायाधिसले वीपीलाई थुन्न नमिल्ने आदेश दिदैं थुन्न आदेश दिने अधिकारीलाई चार आना जरिवाना गराए, र त्यही दिन बेलुका वीपीलाई रिहा गरियो । राजा न्यायाधिससँग असन्तुष्ट भएर अन्तरिम संविधानले न्यायलयलाई दिएको कानुनी अधिकार समेत खोसेर आफूमा निहित गरे ।

सातसाल अघि नेपाली कांग्रेसले संचालन गरेको सशस्त्र आन्दोलनका योद्धा रामहरी जोशीसँग ओएनएसका सहकर्मी रमेश वाग्लेले गरेको कुराकानीमा आधारित


  •  
  •  
  •