काठमाडौं १९ भदौ (ओएनएस) : वीरगञ्ज भन्सार कार्यालयको गोदाममा विद्युत् सर्ट भई लागेको भीषण आगो नियन्त्रणमा आएको छ । नेसनल टे«डिङले प्रयोग गर्दै आएको गोदाममा आगलागी भएको हो । बुधबार बिहान करिब ३ बजे देखि सुरु भएको आगलागी ७ बजे नियन्त्रणमा आएको हो ।
वीरगञ्ज उपमहानगरपालिका, मकवानपुर, पथलैया र कलैयाबाट आएका चारवटा वारुणयन्त्रको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको मद्दतले पाँच घण्टापछि आगो नियन्त्रणमा ल्याइएको हो ।
विद्युत्को तार सर्ट भई गोदामभित्र रहेको तेल तथा ग्यास सिलिन्डरमा आगो सल्की आगलागी भएको प्रारम्भिक अनुमान रहेको पर्साका कामु प्रमुख जिल्ला अधिकारी योगराज पाण्डेले जानकारी दिए । तेस्रो मुलुक र भारतबाट आयात गरिएको माल वस्तु भण्डारण गरिएको सो गोदाममा आगलागीबाट भएको क्षतिको हालसम्म यकिन हुन नसकेको उहाँले बताउनुभयो । सय मिटर लामो र १५ मिटर चौडाइ रहेको गोदाममा रु एक अर्बभन्दा बढीको माल वस्तु भण्डार गरी राखिएकोे भन्सार स्रोतले जनाएको छ ।
दुईवटा डोजरको सहयोगमा गोदामको ढोका फोडी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा गोदामबाट माल वस्तु निकाल्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।