फेसबुकमार्फत पिरती लगाउँदै, युवती ठग्दै

164
  •  
  •  
  •  

काठमाडौं १३ चैत ।
फेसबुक चल्तिको सामाजिक संजाल हो । यसमार्फत राम्रा र नराम्रा दुवै काम भएका छन् । फेसबुकबाटै ४० जनाभन्दा बढी युवतीलाई ठगेको आरोपमा प्रहरीले धरानका जीवन लामालाई पक्राउ गरेको छ । उनले १ करोडभन्दा बढी ठगी गरेको आरोप प्रहरीमा छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार लामाले ठग्नकै लागि आफू अमेरिकी आर्मी, हङकङ लाहुरे, व्रिट्रिस आर्मी भएको हवाला दिँदै हिँडेका र विवाह गर्ने बहाना बनाएको आरोप छ । त्यसमध्येकी एक युवती हुन्, नुवाकोटकी सीता लामा (नाम परिवर्तन) । सीतालाई लामाले फेस बुकमार्फत ‘फ्रेन्ड रिक्वेस्ट’ पठाए । ‘युएस आर्मीको पोसाकमा बन्दुक बोकेका युवकले ‘फ्रेन्ड रिक्वेस्ट’ पठाए, पहिले त मैले स्वीकार गरिन, तर, निरन्तर एसएमएस आइरहर्‍यो,’ उनले भनिन्, ‘केही दिनपछि त नजिकैका नातेदारलाई चिन्छु भनेर म्यासेज पठायो, त्यसपछि राम्रै मान्छे होला भनेर ‘फ्रेन्ड रिक्वेस्ट’ स्वीकार गरें ।’ उनीहरुवीच कुराकानी बाक्लिंदै गयो । जीवनले विबाहको प्रस्ताव गरे ।

कुराकानीकै क्रममा आफू युएस आर्मी भएको र विवाहपछि अमेरिका ल्याउने प्रलोभन देखाए । खाइलाग्दो ज्यान भएको जीवनसँग विवाह गर्न सीता राजी भइन् । करिव एक महिनापछि उनी सीताको घर पुगे । बाबुआमा र आफन्तलाई भेटेर विवाहको प्रस्ताव गरे । युएस आर्मी भएको ज्वाई पाएपछि सीताका आमाबुवाले विवाहको प्रस्तावलाई स्वीकारे । जीवन काठमाडौं फर्के । सिता र जीवनको भेट पनि बाक्लियो ।

एक महिनापछि आफ्ना बुवाको अचानक अप्रेसन गर्नुभएकाले पैसाको अभाव भएको भन्दै जीवनले सीतासँग नक्कली समस्या सुनाए । आफ्नो अमेरिकन बैंकको खाता भएकाले तुरुन्त पैसा निकाल्न नमिल्ने भन्दै ५ लाख रुपैयाँ पठाउन सीतासँग अनुरोध गरे । उनले जीवनको समस्या बाबुआमालाई बताइन् ।

‘हुनेवाला ज्वाँइ भएकाले सिताका बुवाले सहकारीबाट ऋण निकालेर तुरुन्त जीवनको खातामा रकम जम्मा गरि दिएछन्,’ महानगरीय प्रहरी परिसरका एसएसपी विक्रमसिंह थापाले भने । ५ लाख रुपैयाँ पाएपछि फेसबुकमा च्याट गर्ने र मोबाइलमा घण्टौं कुराकानी गर्ने जीवन अचानक गायव भए । भेट पनि ठप्प भयो । केही दिनपछि जीवनको नम्बरबाट सीतालाई फोन आयो । अर्कै व्यक्ति बोले । फोनमा ककनीबाट प्रहरी हवल्दारले भने, ‘मोबाइल बाहक व्यक्तिको ककनी भिरमा लडेर मृत्यु भएकाले आफन्तलाई जानकारी गराइदिनु होला ।’

सीताले फोन गर्ने व्यक्तिको कुरा पत्याइनन् । सीता र उनका आमा बुवाले जीवन ठग भएको निस्कर्ष निकाले । प्रहरी परिसर काठमाडौंमा उनले उजुरी दिइन । ‘जीवनका विरुद्ध त्यस्तै प्रकृतिका उजुरी प्रहरी परिसरमा आइरहे, करिव १० वटा उजुरी आएपछि हामीले अनुसन्धानलाई तिव्र पार्‍यौं, मोबाइलको कलडिटेल हेर्न विभिन्न अनुसन्धान गर्‍यौं’ एसएसपी थापाले भने, ‘उजुरी केलाउँदै गयौं, एउटै व्यक्ति भएको निष्कर्ष निकालेर अनुसन्धान जारी राख्यौं ।’ पछ्याउँदै गएपछि पोखराबाट लामालाई पक्राउ गरिएको उनले बताए ।

उनले जीवनले ठग्ने क्रममा २८ वटा भन्दा बढी सिम कार्ड परिवर्तन गरेको जानकारी दिए । उनले नयाँ–नयाँ फेस बुक आइडी खोल्दै युवतीलाई ठग्दै हिंड्ने गरेको बताए । ‘कसैलाई युएस आर्मी, कसैलाई व्रिट्रिस लाहुरे भनेर ठग्दो रहेछ’ उनले भने । परिसरका प्रवक्ता प्रद्यम्न कार्कीले झापा, नुवाकोट र रामेछापका १४ जना युवतीले प्रहरीमा उजुरी दिएको बताए । ‘आफूहरु ठगिएको धेरै युवतीले मौखिकरुपमा बताएका छन्,’ उनले भने, ‘अपरिचित व्यक्तिको ‘फ्रेन्ड रिक्वेस्ट’ स्वीकार नगर्नुहोला, किनभने अपराधिक मानसिकताका मानिसले विभिन्न किसिमले फसाउन सक्छन् ।’
कान्तिपुरबाट


  •  
  •  
  •