काठमाडौं (एजेन्सी) : अमेरिकी राज्य मिनेसोटामा एउटा कथित चोरलाई फेसबुकका माध्यमबाट प्रहरीले गिरफ्तार गरेको छ । २६ वर्षीय निकोलस विगमाथि एउटा घरमा प्रवेश गरी चोरी गरेको आरोप लागेको थियो । सो घरमा चोरी गर्न जाँदा उनले सोही घरमा रहेको कम्प्युटर खोलेर आफ्नो फेसबुक ‘चेक’ गरेको बताइन्छ । तर आफ्नो फेसबुक अकाउन्ट बन्द गर्न बिर्सिएका कारण घरधनीले उनको प्रोफाइल र तस्वीर हेर्ने मौका पाएका थिए ।
सोही आधारमा उनको पहिचान गरी प्रहरीले चोरीको आरोपमा पक्राउ गरेको बताइएको छ । प्रहरीका अनुसार विगले सो घरमा प्रवेश गरी घडी लगायत अन्य सामान चोरी गरेको आरोप स्वीकार गरेका छन् । उनले चोरी गर्न जाँदा आफूले फेसबुक अकाउन्ट चेक गरेकोसमेत स्वीकार गरेका छन् । चोरीको आरोप प्रमाणित भएमा उनलाई १० वर्षसम्म जेल सजाय हुने प्रहरीले जनाएको छ ।