घर–घरै आँखा उपचार पाएपछि दुबिचौरबासी खुसी

851
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, २६ वैशाख (ओएनएस) : गुल्मीको दुबिचौर गाविसका सम्पूर्ण आँखाका विरामीहरुले निशुल्क आँखा उपचार सेवा पाएपछि खुसी भएका छन् ।
सदरमुकाम तम्घाससँगै जोडिएको दुविचौर गाविसको वडा नम्बर ९ को उर्लेनी छापाका आँखा रोगीहरुको उपचार गरेपछि गाविसका सम्पूर्णले निशुल्क आँखा उपचार सेवा पाएका हुन् ।
नेपाल नेत्रज्योति संघका ओईकिरण ढुंगाना सहितको ५ सदस्यीय डाक्टरको टोली र गाविसकी सामाजिक परिचालिका लक्ष्मी ज्ञवालीको संयुक्त समुूहले गाविसका प्रत्येक टोलटोलमा पुगेर आँखा रोगीहरुको उपचार गरेको थियो ।  वैशाख १७ गतेदेखि गाविसमा सुरु भएको निशुल्क आँखा उपचार शिविर विहीबारसम्म चलेको थियो । एक हप्तासम्म आँखा बिशेषज्ञहरुले दुविचौर गाविसका घरघरमै पुगेर आँखा जाँच तथा उपचार गरेका थिए ।
नेपाल नेत्रज्योति संघ, जिविस, दुविचौर गाविस र स्थानीय सहारा युवा क्लबको आयोजनामा दुबिचौर गाविसमा निशुल्क आँखा शिविर सम्पन्न भएको हो । वैशाख १७ गते गाविसको वडा नम्बर ३ को भँगारीबाट आँखा शिविरको उद्घाटन भएको थियो । स्थानीय विकास अधिकारी हरि प्रसाद ज्ञवालीले दुबिचौर गाविस सदरमुकाम तम्घास सँगै जोडिएको भएपनि धेरै कुराले पछाडि परेकोले दुबिचौर गबिसमा यस्तो कार्यक्रम गरिएको बताए । उनले अब दुबिचौर गाविसमा बिस्तारै यस्ता अरु कार्यक्रमहरु पनि सञ्चालन हुँदै जाने बताए ।
नेपाल नेत्रज्योति संघका ओई किरण ढुंगानाले गाविस र स्थानीय क्लवको सक्रियतमा भौगोलिक रुपले बिकट मानिने गाविसको सम्पूर्ण ठाउँमा पुगेर आँखाका रोगीहरुलाई भेट्न पाउँदा खुसी लागेको बताए । नेत्र ज्योति संघले उक्त कार्यक्रम नेपालमै नौलो भएको दावी गरेको छ ।
सहारा युवा क्लवका कोषाध्यक्ष खुमबहादुर खत्रीका अनुसार गाविसका कूल १ हजार २० जना आँखा रोगीहरुको उपचार गरिएको छ ।

  •  
  •  
  •