अमेरिकामा विश्वकै पहिलो सिंगो आँखा प्रत्यारोपण

115
  •  
  •  
  •  

एजेन्सी । न्युयोर्कमा सर्जनहरुले विश्वको पहिलो पूर्ण आँखा प्रत्यारोपण सम्पन्न गरेको बताएका छन्। यद्यपि, आँखा प्रत्यारोपण गरिएका व्यक्तिले देख्न सक्छन् या सक्दैनन् भन्ने निश्चित छैन।

यसलाई लाखौँ मानिसको दृष्टि फर्काउने प्रयासमा कोसेढुंगो मानिएको छ। एरन जेम्स नामक व्यक्तिले २०२१ मा ७ हजार २ सय भोल्टको तार छुँदा भएको दुर्घटनामा अनुहारको अधिकांश हिस्सा गुमाएका थिए। दुर्घटनापछि दुखाइका कारण उनको बायाँ आँखा हटाउनुपरेको थियो भने उनलाई बचाउन अनेक शल्यक्रिया गर्नुपरेको थियो। उनको एउटा हात पनि नक्कली छ।
यो वर्षको मे महिनामा उनको अनुहारकै आधाभन्दा बढी हिस्सा प्रत्यारोपण गरिएको थियो। जसमा १४० जनाभन्दा बढी स्वास्थ्यकर्मीको सहभागिता थियो। सो शल्यक्रिया सम्पन्न गर्न २१ घण्टा लागेको थियो।

न्युयोर्क युनिभर्सिटी ल्याङ्गन हेल्थका सर्जनहरुले सो जटिल शल्यक्रिया गरेका थिए। उनीहरुले ४६ वर्षीय जेम्सको अवस्था सुधार हुँदै आएको बताएका छन्। बिहीबार उनीहरुले जनाएअनुसार उनलाई प्रत्यारोपण गरिएको आँखा स्वस्थ देखिन्छ। उनको दायाँ आँखाले भने अझै काम गरिरहेकै छ। ‘हामीले पहिलो पटक सिंगो आँखा प्रत्यारोपण गरेका छौँ, जुन यसअघि असम्भव ठानिन्थ्यो,’ प्रत्यारोपणमा सहभागी डा. एडुवार्डो रोड्रिगेजले भने।

डाक्टरहरुले कर्निया प्रत्यारोपण भने वर्षौंदेखि गर्दै आएका थिए। जेम्सले सो आँखा देख्छन् नै भन्ने ग्यारेन्टी नभए पनि देख्ने सम्भावना रहेको डाक्टरहरको भनाइ छ।

‘मैले यो आँखा देखेँ भने गज्जब हुन्छ। देखिनँ भने पनि यो चिकित्सा क्षेत्रमा नयाँ सुरुवात हुनेछ,’ जेम्सले भनेका छन्।

जेम्स पूर्वसैनिक हुन्। अनुहार प्रत्यारोपण गर्ने उनी अमेरिकाको १९ औँ व्यक्ति हुन्। उनलाई आँखा र अनुहार दान गर्ने व्यक्ति ३० माथिका थिए।


  •  
  •  
  •