महंगो भयो दशै

108
  •  
  •  
  •  

काठमाडौं, ९ असोज (ओएनएस) : यस बर्षको दशै उपभोक्ताका लागि महंगो हुने भएको  छ । दशै नजिकिएसँगै खाद्यान्न तथा लत्ता कपडाको मूल्यमा अत्याधिक बृद्धि भएपछि उपभोक्ता मर्कामा परेका छन् ।

गतबर्षको तुलनामा यस बर्ष खाद्यान्नको मूल्य झण्डै ३५ प्रतिशतले बढेको छ । कपडाको मूल्यमा पनि ३० प्रतिशतसम्म बृद्धि भएको  सम्वन्धित व्यवसायीहरु बताउँछन् ।

खाद्यन्नमा विशेषगरी दाल तथा चामलको मूल्य बढेको उपभोक्ताहरुको गुनासो छ । ‘दैनिक प्रयोग हुने दाल र चामलको  मूल्य छोइनसक्नु छ’ कलंकिकी रमा सुवेदी बताउँछिन् ।
१ बर्ष अघि १ सय ३० रुपैयाँ पर्ने मुंग खोस्टा दालको बजार मूल्य  अहिले १ सय ७० रुपैयाँ पुगेको छ ।

त्यस्तै १ सय ९० रुपैयाँ पर्ने धनियाँको मूल्य अहिले २ सय ७०  छ ।  २ सय ७५ रुपैयाँ पर्ने सेतो तिलको खुद्रा विक्री मूल्य हाल ३ सय २० रुपैयाँ पुगेको नेपाल खुद्रा व्यापार संघको तथ्याङक छ । बासमती चामलको मूल्य प्रतिकेजी १० र भटमास तथा तोरीको तेलमा  प्रति लिटर ५० रुपैयाँले बढेको छ  ।

त्यसैगरी ताइचिन चिउराको मूल्य प्रतिकेजी २२ रुपैयाले बढेर १ सय ५ रुपैयाँ पुगेको संघको तथ्याङक छ । रहरको दाल,चनाको दाल तथा मासको दालमा पनि प्रतिकेजी १० देखि ५० रुपैयाँसम्म बढेको छ ।

‘ठूला व्यापारीले नै खाद्यन्नमा मुल्य बढाएका छन्,’ असनकी खुद्रा व्यापारी नानु श्रेष्ठ भन्छिन्,‘ त्यसैले गर्दा खुद्रा व्यापारीले पनि मूल्य बढाउन बाध्य छौँ ।,’  होलसेल व्यापारीले भन्सार शुल्क तथा बाटो अवरुद्व भएको भन्दै बढी मूल्य लिएर उपभोग्य बस्तु उपलब्ध गराउने उनको भनाई छ ।

kabin 2जुरेमा गएको पहिरोका कारण चीनको खासाबाट ल्याइने कपडाको मूल्य बढेको छ । पहिरोले केही समय सडक अवरुद्व गर्दा भरिया लगाएर सामान ल्याउनु परेकोले कपडाको मूल्य बढेको व्यवसायीहरु बताउँछन् ।

पहिरोले गर्दा भन्सारबाट नै कम कपडा आएको भोटाहिटीका कपडा व्यपारी लक्ष्मण कार्कीले जानकारी दिए ।

यता राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना वाणिज्य तथा आपूर्ती विभागले कपडा र खाद्यन्नको मूल्यको अनुगमन नगरेकोले उपभोक्ता मारमा परेको बताउँछन् ।
‘सरकारको नियमन नै फितलो भएको दशैमा खाद्यन्न तथा लत्ताकपडा जस्ता अत्यावश्यक बस्तुको मूल्य नागरिकको पहँचबाट बाहिर  पुगेको छ’ उनले भने ।

पछिल्लो समय कपडा तथा खाद्यन्नमा न्युनविजिकरणको मुद्दा उठिरहेको छ यसमा  भन्सार र वाणिज्य विभागको समन्वयमा वास्तविक कुरा पत्ता लगाएर मूल्यबृद्वि नियन्त्रण गर्नुपर्ने उनको तर्क छ ।

सरकारले भने दशैलाई लक्षित गर्दै बजार अनुगमन गर्न ५ वटा टोली खटाएको जानकारी दिएको छ । वाणिज्य तथा आपूर्तिमन्त्री सुनिल थापाले अनुगमन टोलीले बढी सामान किनबेच हुने ठाँउमा टोली खटाईएको बताए । उनले भने,‘जहाँ बढी भिडभाड हुन्छ त्यहा जस्तो काठमाण्डौंको न्यूरोड, असन जस्ता ठाउँ ललितपुरका पाटन लगायतका ठाँउमा अनुगमन टोली छ ।’

थापाले बढीमा विक्रि गरेको पाईए तत्काल करवाही गरिने बताए ।

सरकारले बजारमा मूल्यलाई स्थीर गर्ने तथा विचौलीयालाई चलखेल गर्न नदिन अनुगमनलाइ
तिव्रता दिए पनि मूल्यबृद्वि नियन्त्रण गर्न सकेको छैन ।


  •  
  •  
  •