त्रिविको रोकिएका परीक्षा भदौको तेस्रो हप्ताबाट गर्ने तयारी

180
  •  
  •  
  •  

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले रोकिएका परीक्षा भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी थालेको छ। लकडाउन खुलेसँगै विद्यार्थीले दुई हप्ताभित्र काठमाडौं आउने समय मागेकाले भदौ तेस्रो हप्तादेखि परीक्षा गर्ने तयारी गरेको हो ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातकोत्तर तह र स्नातक तहका सेमेस्टर परीक्षा भदौको तेस्रो हप्ता र वार्षिक परीक्षा असोजको पहिलो हप्तादेखि शुरु गर्नेगरी तयारी थालिएको छ ।
त्रिविले ती परीक्षाका लागि चाँडै नै कार्यतालिका प्रकाशन गर्ने तयारीसमेत गरेको छ।

यसपटक विद्यार्थीलाई पायक पर्ने नजिकका क्याम्पसमा परीक्षा केन्द्र राखिनेछ। त्रिविले गत चैत ७ गतेदेखि कोभिड–१९ का कारणले सेमेस्टर तथा वार्षिक सबै परीक्षा स्थगन गरेको थियो।

स्नातकोत्तर तहको प्रथम, स्नातक तह दोस्रो र विभिन्न तहका सेमेस्टर प्रणालीका परीक्षा रोकिएका छन्।

वार्षिक परीक्षाअन्तर्गत स्नातकोत्तर तह प्रथम र स्नातक तह चौथो वर्षको परीक्षा बाँकी रहेको छ।

 


  •  
  •  
  •