हिउँ छैन सगरमाथामा

363
  •  
  •  
  •  

काठमाडौं २६ पुस ।
सँगैको तस्बिर संसारकै अग्लो शिखर सगरमाथाको हो। आठ हजार आठ सय ४८ मिटर अग्लो यो चुचुरोनजिकैको कालापत्थरबाट मंगलबार साँझ यस्तो देखिएको थियो (नांगै)। मध्यहिउँदमा सेताम्मे देखिनुपर्ने सगरमाथा शिखर कालो पहरोजस्तो उजाड छ। कतैकतै अलिअलि हिउँ देखिन्छ।

नेपाल विज्ञान प्रविधि प्रतिष्ठानको अगुवाइमा इटालीको शिक्षा मन्त्रालयले राखिदिएको (इटालियन स्याटलाइट) वेब क्यामराले खिचेको यो तस्बिरले हिमालमा हिउँ पातलिएको बलियो प्रमाण दिएको छ।
अघिल्लो सातादेखि उच्च हिमाली भेगमा पानी र हिउँ परिरहेको छ तर सगरमाथाको चुचुरोमा हिउँ छैन। विज्ञहरूका अनुसार तापक्रम वृद्धिका कारण हिउँ पग्लेर झर्ने क्रम तीव्र हुँदा हिमालमा हिउँ पातलिएको हो। हिउँ पग्लिएर तल झर्दा ढुंगा र पहरा देखिन थालेको छ।

१२ पटक सगरमाथा आरोहण गरेका नाम्ग्या शेर्पाका अुनसार हिउँ पग्लिने क्रम बढेपछि पछिल्ला वर्षमा सगरमाथामा धेरै समय हिउँ रहँदैन। तीव्र गतिको हावाले भिरालो ठाउँमा जम्मा भएको हिउँ उडाइदिन्छ।

‘सगरमाथामा हिउँ नै पर्न छाडेको होइन। तर परेको हिउँ पग्लिने र तल झर्ने कारणले नांगो पहाड देखिएको हो’, ना ग्याले अन्नपूर्णसँग भने। सगरमाथा मात्रै होइन, आडैको ल्होत्से हिमालमा पनि हिउँ छैन।

सगरमाथाबारे अध्ययन गरिरहेका वैज्ञानिक सुदीप ठकुरीले सगरमाथाको हिउँ पग्लिने र हिमताल बन्ने क्रम तीव्र भएको बताए।

सन् २००१ देखि २०१४ सम्ममा हिउँ पग्लिएर बनेका हिमतालको आकार प्रतिवर्ष ०.६ मिटरका दरले बढिरहेको छ। ‘हिमतालको आकार बढिरहनु भनेको सगरमाथाको हिउँ पग्लिने क्रम तीव्र हुनु हो’, ठकुरीले भने।

सन् १९९० देखि २०१४ सम्म हिउँको परिणाममाथिको अध्ययनले समेत सगरमाथा क्षेत्रमा हिउँको मात्रा घटेको ठकुरीले बताए। ‘जमेको बाक्लो हिउँ चुचुरोतिरबाट झरेर तल आउँदा हिमतालको आकार बढिरहेको छ’, ठकुरीसहितको अन्तर्राष्ट्रिय विज्ञ टोलीले गत महिना सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ, ‘हिउँ पग्लिएर बनेका ससाना पोखरी जोडिँदै ठूलो बन्ने क्रम तीव्र छ।’

सगरमाथाको इम्जा च्छो हिमताल यसैको एउटा उदाहरण हो। यो हिमताल प्रत्येक वर्ष ७४ मिटरका दरले बढिरहेको इसिमोडको अध्ययन छ।

हिउँ पग्लिने क्रम बढेकाले अन्य हिमालमा पनि काला ढुंगा र पहाड देखिएका छन्। हिउँ पग्लिँदा सगरमाथा आरोहणसमेत कठिन बन्दै गएको छ। पातलो हिउँकै कारण चुचुरो चुम्न अप्ठ्यारो भइरहेको अनुभव आरोहीहरूले सुनाएका छन्।

२१ पटक सगरमाथा आरोहण गरेका आप्पा शेर्पाले केही वर्षअघि चढ्दाको भन्दा अहिले सगरमाथामा आधामात्रै हिउँ देखिने बताए। उनले चुचुरोबाट फर्किंदा पाँच हजार मिटरमा हिउँ पग्लिएर बनेको सानो पानी पोखरी भेटिएको घटना सुनाएका थिए।

‘सगरमाथामा हिउँ पातलिएको छ। पहिले हिउँमाथि मज्जाले हिँडिन्थ्यो, अहिले ढुंगामाथि चढ्नुपर्छ’, आप्पाले अन्नपूर्णसँग भने।

तीन वर्षअघि सगरमाथा आरोहणमा गएका दावा स्टेफन शेर्पाको टोली बसेको टेन्ट नै हिउँ पग्लिएर बगाएको थियो। दावाले स झिए, ‘बेलुका हामी बसेको टेन्ट बिस्तारै पग्लिएर हिउँसँगै सरिसकेको थियो।’

हरितगृह ग्यास उत्सर्जनका कारण संसारमै सबैभन्दा छिटो हिउँ पग्लिने क्रम उच्च हिमाली क्षेत्रमा बढेको छ। संयुक्त राष्ट्रसंघीय अन्तरसरकारी निकाय (यूएनएफसीसीसी) का अनुसार सन् २०५० सम्ममा हिउँ पग्निले क्रम बढेकैले धेरै एसियाली देशमा पानीको संकट हुन सक्छ।

अग्ला हिमालमा नियमित हिउँ परे पनि पग्लिने क्रम त्योभन्दा छिटो भएको विभिन्न अध्ययनले देखाएका छन्। नाम्ग्या भन्छन्, ‘हिउँ पग्लिने क्रम धेरै छिटो भएकाले हिउँ धेरैबेर रहनै सक्दैन, हिउँ पर्छ अनि पग्लिहाल्छ।’

हिउँ पग्लिने क्रम बढेकैले सन् १९६० यताका एक वर्ग किलोमिटरका हिमताल हराइसकेका छन्। बितेको ५० वर्षमा सगरमाथा क्षेत्रका हिमनदी १३ प्रतिशतले खुम्चिएका छन्। हिउँ पर्ने क्षेत्र एक सय ८० मिटर माथि सरेको छ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •