काठमाडौं, १३ माघ (ओएनएस) : नेपालस्थित युरोपीयन युनियन (ईयू) को नेपाल प्रतिनिधिमण्डलले आफुअन्तर्गतका कुटनीतिज्ञले राज्य विप्लव अभियानमा सक्रिया सीके राउतलाई भेटेको मंगलबार प्रेश विज्ञप्ति जारी गर्दै स्वीकार गरेको छ ।
साथै ईयूले भेट्नुको मुख्य कारण मानव अधिकारको आधार भनेको छ । परराष्ट्रमन्त्री पाण्डे र ईयूका हेड अफ मिसनबीच भएको भेटवार्तामा पनि राउतबारे कुरा भएको इयूले जनाएको छ ।
राउतलाई गलत नियतले भेटिएको भन्ने दुष्प्रचारलाई स्पष्ट पार्नको लागि परराष्ट्रमन्त्री पाण्डेसँग भेट गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
नेपालमा अस्थिरता फैलाउनको लागि राउतसँग भेट गरिएको भन्ने आरोपको पनि ईयूले खण्डन गरेको छ । ईयू सधै नेपालको असल साथी रहने र नेपालको विकासमा सहयोग गर्ने पनि विज्ञप्तिमार्फत प्रतिबद्धता जनाइएको छ ।
राउतलाई गिरफ्तार गर्दा मानव अधिकारका मुद्दा उठेको बारेमा मन्त्री पाण्डेसँग छलफल भएको पनि ईयूले जनाएको छ । ईयूले कानुनी शासनप्रति प्रतिबद्ध तथा मानिसको बोल्न तथा समारोह गर्न पाउने अधिकारलाई सम्मान गर्ने बताउँदै पछिल्लो समय राउतलाई सभा गर्न नदिएर पक्राउ विषयमा मन्त्री पाण्डेसँग छलफल भएको बताइएको छ ।
ईयूले राउतलाई भेट्दैमा उनको आन्दोलनलाई समर्थन गरेको मान्नु गलत बताएको छ । साथै ईयूमाथि नेपाल सरकारले कुनै कुटनीतिक कदम नलिएको पनि स्पष्ट पारेको छ ।
युरोपेली राष्ट्रका केही कूटनीतिज्ञले हालै मात्र पर्यटक बस रिजर्व गरेर चितवनमा गई सीके राउतसँग गोप्य भेट गरेको सूचना सरकारले पाएपछि उनीहरुसँग छलफल गरेको थियो । राउतलाई युरोपियन युनियनका प्रतिनिधिका साथै नर्वे, डेनमार्क र स्वीट्जरल्याण्डका कूटनीतिज्ञ चितवन पुगेका थिए ।