युरोपियन युनियनको चासो तेस्रो संविधानसभा चुनावमा

166
  •  
  •  
  •  

काठमाडौं, २६ चैत (ओएनएस) : नेपाल भ्रमणमा रहेको जिन लाम्वर्ट नेतृत्वको युरोपियन सांसदहरुको प्रतिनिधिमण्डलले तेस्रो संविधानसभा चुनावका विषयमा चासो राखेको छ । सहमतिमा मात्र संविधान बन्नुपर्ने भन्दै राष्ट्रपतिदेखि निर्वाचन आयोगका प्रमुख आयुक्तसम्मलाई भेट्ने कार्यसूची लिएर आएको प्रतिनिधिमण्डलले संविधानसभाका अध्यक्षसँगको भेटमा यस्तो चासो व्यक्त गरेको हो ।

‘संविधानसभाको तेस्रो चुनाव सम्भव छ ? भन्दै एकजना प्रतिनिधिले प्रश्न सोध्नुभयो’, संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले भने, ‘म प्रश्न सुनेर आश्चार्यचकित हुँदै तेस्रो संविधानसभाको चुनाव जनताको परिकल्पनाभन्दा बाहिरको विषय भएको भन्दै असम्भव रहेको कुरा बताए ।’

सहमतिमा संविधान जारी गराउन सुझाव दिदै हिडेको युरोपियन युनियनको सांसद टोलीले चार वर्षे कार्यकालका लागि निर्वाचित संविधानसभाको एक वर्ष पुरा भएकै सन्दर्भमा यस्तो प्रश्न गरेको हो । ‘म तत्काल संविधान निर्माण हुनुपर्छ भनेर लागि रहेको छु, उहाँहरु संविधान निर्माण सहमहतिमा मात्र गर्नुपर्छ भन्दै सुझाव दिदैं हुनुहुन्थ्यो’ नेम्बाङले भने, ‘तर चार वर्षे कार्यकाल भएको संविधानसभाको एक वर्ष पुरा हुँदैगर्दा हाम्रा मित्र राष्ट्रका प्रतिनिधिमण्डलबाट कल्पना भन्दा पनि परको जिज्ञासा आयो ।’

नेम्बाङले प्रतिनिधिमण्डललाई यो संविधानसभाले संविधान निर्माण गर्ने दाबी गर्दै यसले संविधान दिन नसके संविधानसभाको चुनाव नैं नहुने बताएका थिए । ‘अर्को संविधानसभाको निर्वाचन जनताको परिकल्पना भन्दा बाहिरको कुरा हो’ नेम्बाङले आफ्नो भनाई पुनः दोहोर्याउदै भने, ‘यो संविधानसभाले संविधान दिन्छ दिनुपर्छ, सकेन भने अर्को संविधानसभाको चुनाव असम्भव छ ।’

युनियनका सांसदहरुको टोलीले ‘संविधानसभामा गतिरोध भइरहेका वेला जनताले यसलाई कसरी हेरिरहेका छन’ भन्दै अर्को प्रश्न समेत गरेको थियो ।

‘चुनाव घोषणापत्रमा दलहरुले चार वर्षे कार्यकालका लागि चुनाव गरेर एक वर्षमा संविधान र बाँकी तिन वर्षमा राष्ट्रको समृद्धि भनेका थिए’ युनियनसँगको भेटमा आफ्नो भनाई दाहो¥याउदै सभाध्यक्ष नेम्बाङले भने, ‘माघ आठमा संविधान बनाउन नसकेका दलहरुले सहमतिमा संविधान जारी गर्छाै भनेका छन्, जनता त्यसलाई विश्वास मानेर दलका नेताको सहमति पर्खिरहेका छन् ।’ नेम्बाङले राजनीतिक दलका नेतासँग युरोप फर्कनुअघि दुई घण्टाअघि सकिन्छ कि सकिदैन प्रश्न गर्नु भन्दै आग्रह समेत गरेका थिए ।

राष्ट्रपति, प्रधानमन्त्री, संविधानसभाका अध्यक्ष र निर्वाचन आयोगका आयुक्तसँग भेटको कार्यसूची सार्वजनिक गरेको युनिएन प्रतिनिधि मण्डलले राजनीतिक दलका नेतासँग गुपचुप भेटघाट गरिरहेको छ ।


  •  
  •  
  •