विदेशी बाबुका सन्तानलाई नागरिकता दिन आग्रह

177
  •  
  •  
  •  

काठमाडौं २१ कात्तिक ।

युरोपेली संघ (ईयू) ले विदेशी बाबु र नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकताबाट वञ्चित नगर्न नेपाल सरकारलाई आग्रह गरेको छ। नयाँ संविधान निर्माणका लागि सहमति जुटाउने कसरत भइरहेका बेला स्विट्जरल्यान्ड, नर्वे र युरोपेली संघ सदस्य राष्ट्रका राजदूतका तर्फबाट ईयूको नेपालस्थित मुख्यालयले बिहीबार ‘सबै नेपाली बालबालिकालाई नागरिकताको अधिकारमा समान पहुँच’ दिन आग्रह गरेका हुन्।

नेपाली पुरुषले विवाह गरी ल्याएकी विदेशी महिलाले सम्बन्धित देशको नागरिकता त्याग्ने कारबाही चलाएपछि तत्कालै अंगीकृत नेपाली नागरिकता पाउने व्यवस्था छ। तर नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषले १५ वर्षपछि विदेशको नागरिकता परित्याग गर्ने कारबाही चलाएपछिमात्र नेपालको अंगीकृत नागरिकता प्राप्त गर्नसक्ने व्यवस्था छ।

चर्चित पुस्तक द काठमाडौंका लेखक टम बेल बेलायती नागरिक हुन् भने उनकी पत्‍नी सुविना श्रेष्ठ नेपालकी नागरिक हुन्। उनीहरूका सन्तानलाई नेपाली नागरिकता दिने व्यवस्था छैन। ‘विदेशी बाबु र नेपाली आमाबाट जन्मेका बच्चालाई नागरिकताबाट वञ्चित गरिनु हुँदैन। उनीहरूले नागरिकता पाउने सुनिश्चित गराइनुपर्छ भन्न खोजिएको हो’, ईयू सम्बद्ध एक अधिकारीले भने।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिद्वारा गठित उपसमितिले तयार गरेको नागरिकतासम्बन्धी प्रस्तावले पनि त्यस्ता बालबालिकालाई राज्यविहीन हुनबाट रोक्न नसकेको संवैधानिक कानुन व्यवसायी मञ्चको ठहर छ। ‘विदेशी महिला वा पुरु षले चाहेमा भन्ने शब्दले विदेशी महिला वा पुरु षले नेपाली अंगीकृत नागरिकता लिन चाहेनन् भने नेपाली आमा वा बाबुका सन्तानले समेत अंगीकृत नागरिकता पाउन नसक्ने र राज्यविहीन हुन सक्ने देखिन्छ’, मञ्चका अध्यक्ष डा. चन्द्रकान्त ज्ञवालीले भने।

नेपाली आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान नभएको व्यक्तिलाई वंशजको नागरिकता प्रदान गर्ने तर बाबु विदेशी भएको प्रमाणित भएमा त्यस्तो व्यक्तिको नागरिकता स्वत: अंगीकृत नागरिकतामा परिणत हुने समितिको प्रस्ताव छ।

कांग्रेसनेत्री सुजाता कोइरालाले जर्मन नागरिक नोवर्ड जोस्टसँग बिहे गरेकी थिइन्। कोइरालाले २०५० सालमा सम्बन्धविच्छेद गरेपछि छोरीको नागरिकता लिन समस्या भएको थियो। कोइराला र जोस्टका पुत्र भने जर्मन नागरिकता लिएर उतै बसेका छन्। उनकी छोरीले बंगलादेशका नागरिक सँग बिहे गरेकी छन्। सहरी विकासमन्त्री नारायण खड्काकी पत्नी पनि क्यानाडाकी हुन्।

ईयूका तर्फबाट जारी प्रेसविज्ञप्तिमा उल्लेख छ, ‘साझा बिन्दु पहिल्याउन उनीहरूले काम गरिरहँदा हामी सबै पार्टीलाई नयाँ संविधानले जातजाति, लिंग, यौन अभिमुखता वा धर्ममा आधारित कुनै पनि खाले भेदभावबिना आफ्ना सबै नागरिकलाई (सबै नेपाली बालबालिकालाई नागरिकताका अधिकारमा समान पहुँच) आधारभूत मानवअधिकार र स्वतन्त्रता प्रदान गरेको तथा त्यसको रक्षा गरेको सुनिश्चित गर्न जोड दिन्छौं।’ संघले आगामी नयाँ वर्षमा नयाँ संविधान पाउने आशा व्यक्त गरेको छ। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •