राजु केसी
सय वर्षभन्दा लामो घरेलु फुटबलको इतिहास बोकेको नेपाली फुटबलले आजसम्म पनि नेपालीलाई चाहेको जस्तो खुसी दिन सकेको छैन । अन्र्तराष्ट्रिय रुपमा दुई दशक भन्दा कम समय अघि पाइला चालेको नेपाली क्रिकेटले विश्वकप खेलिसक्दा पनि फुटबल क्षेत्रिय प्रतियोगितामा पनि असफल हुँदै आएको छ ।
आज क्रिकेटको सफलताबाट फुटबलले केही दबाव अवश्य महशुस गरेको हुनुपर्छ । तर घरेलु फुटबलको अहिलेको नेतृत्वबाट क्रिकेटको जस्तो सफलता कहिले हात लाग्छ ? हुनत क्रिकेटको नेतृत्वबारे पनि प्रश्न उठ्न सक्ला तर सफलतालाई आत्मसाथ गरेकोले क्रिकेटको नेतृत्वसँग अब फुटबलको तुलना हुनसक्दैन ।
अहिलेको अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वबाट अब सफलताको आशा गर्नु बेकार छ । यो नेतृत्वबाट अब नेपाली फुटबलले जति पाउनु थियो त्यो पायो । अहिलेको एन्फा नेतृत्व गर्ने टिम असफल हो भन्नलाई अब कुनै प्रमाणको जरुरत छैन । सन् २००३ मा अन्र्तराष्ट्रिय फुटबलमा फर्किएको अफगानिस्तानलाई जित्न त अब सपना देख्नुपर्ने भएको छ भने अरु सफलता कहाँबाट हात लाग्छ ?
नेपाली राष्ट्रिय फुटबल टिम अनुहार हेरेर बनाइन्छ कि खेल हेरेर ? भर्खरै सकिएको घरेलु लिगमा राष्ट्रिय टोलीबाट खेलिरहेका कोही पनि खेलाडी आफ्नो पोजिसनमा उत्कृष्ट भएनन् । मनाङमस्र्याङ्दी क्लवका गोलकिपर विशाल श्रेष्ठले नाम परेपनि आजसम्म राष्ट्रिय टोलीबाट नखेलेकोले घरेलु लिग राष्ट्रिय खेलाडीले निल खाएको लिग हो ।
यमनविरुद्ध मैत्रीपूर्ण खेल खेल्न हालै दोहा पठाइएको राष्ट्रिय टिममा त्यही निल खाएका खेलाडीको दवदबा छ । लिगमा उत्कृष्ट मिडफिल्डर घोषित सुशील केसी र उत्कृष्ट डिफेन्डर भएका हेम गुरुङ टोलीमा अटाएका छैनन् ।
मैत्रीपूर्ण खेलखेल्दा त नयाँ र उत्कृष्ट खेलाडीलाई ठाउँ दिइदैन भने उपाधिका लागि खेल्ने खेलमा के होला ? वास्तवमा यस्ता मैत्रीपूर्ण खेलमा नयाँ खेलाडी जन्माउने माध्यम बनाउनु पर्थ्यो । एक जना (रोहित चन्द) बाहेक कोही पनि खेलाडी विदेशी लिग नखेल्ने देशमा लिगको उत्कृष्ट खेलाडी राष्ट्रिय टिममा पर्दैन भने त्यो लिगको के काम ? अनि उत्कृष्ट हुँदा पनि देशका लागि खेल्न नपाइने भएपछि ति खेलाडीले फुटबल खेलिरहन सक्छन् ? वास्तवमा के का आधारमा एन्फाले खेलाडी छान्छ ?
खेल राम्रो बनाउन प्रशिक्षकको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ भन्ने कुरा बुझ्न एन्फालाई धेरै पर जान पर्दैन । पुबुदु दासानायकेको प्रशिक्षकत्वमा नेपाली क्रिकेटले हात पारेको सफलतालाई हेरे पुग्छ । त्यसले पनि कम हुन्छ भने जोहान कालिनले मछिन्द्रलाई दिएको खुसीलाई अनुभव गरे पुग्छ । तर यस्तो महत्वपूर्ण पाटोमा भारी पैसा खर्च गर्दा पनि एन्फा पटक–पटक चुकेको छ ।
आजसम्म पनि घरेलु फुटबलको मुख्य प्रतियोगिता र गतिविधिहरु राजधानीमा सिमित भएका छन् । यसले एकातिर फुटबललाई राष्ट्रव्यापी हुन दिइरहेको छैन भने अर्को तिर व्यवसायिककरणमा बाधा भइरहेको छ । राजधानीका क्लवले मात्र लिग खेल्ने संरचना कायम रहेसम्म यो देशको फुटबल माथि लाग्ने कल्पना पनि गर्नपर्दैन ।
तर एन्फा राजधानीका लागि तीन महिना भन्दाकम समय लिग सञ्चालन गरेर देशको फुटबल हाँकेको कुरा गर्न छाडेको छैन । वास्तवमा केही असफलहरुले अहिले देशको फुटबललाई बन्धक बनाइरहेका छन् । यि असफलहरुलाई घर पठाएर अहिलेको सिण्डिकेटको जालो नझिनाएसम्म फुटबलले दुध पिएर विष मात्र बगाउने छ ।